इटहरी। हिन्दु धर्ममा मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुँदै गएपछि धनकुटाका स्थानीयहरु संरक्षणमा जुटेका छन् ।

पछिल्लो समय बढ्दो युवापुस्ताको ध्यान आधुनिकतामा र गीत सङ्गीततर्फ आकर्षण भएसँगैै संस्कृतिलाई जोगाउन धनकुटाका स्थानीयहरु खैजेडी भजन संरक्षणमा जुट्दै आएका छन् । प्रायजसो धार्मिक कार्यमा गाइने खैजेडी भजन निकै प्रचलित भए पनि पछिल्लो समय संरक्षणको अभावमा लोप हँुदैगएको पाइएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन पछिल्लो केही समय यता गाउँघरमा अपवादको रुपमा मात्र देख्न वा सुन्न पाइन्छ ।  युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा ध्यान आधुनिकतातिर गएसँगै खैजडी भजन लोप हुँदै गएको होकि भन्ने स्थानीयको बुझाइ रहेको छ । 

धनकुटाको पाख्रीबास स्थानीय चन्द्रमणी सुवेदीका अनुसार सहर बजारमा करिब एक दशकअघि खैजडी भजन गाउँदै खेल्दै हिड्ने गरेको बताउनुभयो । पछिल्लो केही समय यता भने देखिन र सुनिन छाडेको मात्र नभइ विस्तारै खोज्नुपर्ने अवस्थामा पुगेकाले संरक्षणमा लागेको उहाँले बताउनुभयो । पुरानो पुस्ताको निस्क्रियता तथा युवापुस्ताको बेवास्ताका कारण धनकुटाका ग्रामीण क्षेत्रका धार्मिक कार्यमा गाइने खैजेडी भजन लोप हुँदैगएको छ । खैजेडी भजनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवा पुस्तामा रक, पप र विदेशी गीतप्रतिको मोहले जोगाउन मुस्किल हुँदैगएको खैजडी भजन संरक्षणमा लागेकाहरु बताउँछन् । 

विगतमा टुक्का र कथालाई खैजेडी भजनमा उतार्न भजनको पुरानै मार्मिकतालाई निरन्तरता दिन सबैले आ–आफ्नै ठाउँबाट लाग्नु पर्ने उनीहरु बताउँछन् । तर व्यक्ति मात्र नभइ यसको संरक्षण गर्न सरकारी निकायबाट केही आवश्यक पहलकदमी समेत रहेको पाख्रीबासका स्थानीय बाबुराम थापा बताउनुभयो । हिन्दु धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन केही समय यता कम पाइन्छ ।