इटहरी। पाँचथरमा यसै आर्थिक वर्षदेखि किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालनको तयारी गरिएको छ । यो सेवा पाँचथर अस्पतालबाट सञ्चालन हुनेछ ।
कार्यक्रम सञ्चालनका लागि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य संस्थाहरूमा आवश्यक तयारी थालिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । यस कार्यक्रमले किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, कुलत नियन्त्रण तथा सुरक्षित जीवनशैली प्रवर्धनमा ठूलो टेवा पुग्ने जनस्वास्थ्य अधिकृत लवरेन्ज साहले बताउनुभयो । स्वास्थ्य कार्यालयद्वारा आयोजित ुकिशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरणु कार्यक्रममा सहज, गोपनीय, भेदभावरहित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थालाई किशोरमैत्री बनाइने जानकारी दिइएको थियो ।
कार्यक्रममा १० देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरू शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक परिवर्तनको संवेदनशील अवस्थामा रहने भएकाले उनीहरूका लागि समयमै स्वास्थ्य शिक्षा, परामर्श र सेवा आवश्यक हुने औँल्याइयो । सरकारी निर्देशिका अनुसार यस सेवाअन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, पोषण परामर्श, यौनजन्य सङ्क्रमण तथा एचआईभी रोकथाम, लागू पदार्थ दुर्व्यसन नियन्त्रण, हिंसाबाट बच्ने उपाय, नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श र आवश्यक परेमा प्रेषण ९रेफरल० सेवा उपलब्ध गराइनेछ ।
स्वास्थ्य संस्थामा गोपनीयता, सम्मानजनक व्यवहार, छुट्टै परामर्श कक्ष, प्रशिक्षित स्वास्थ्यकर्मी र पर्याप्त सूचना सामग्रीको व्यवस्था गर्नुपर्ने मापदण्डसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । किशोरमैत्री सेवा छुट्टै विशिष्ट सेवा नभई हाल सञ्चालनमा रहेकै स्वास्थ्य सेवालाई किशोर–किशोरी अनुकूल बनाउने अवधारणामा आधारित रहेको जानकारी दिइयो । सेवा विस्तारपछि आवश्यक मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरूको प्रमाणीकरण गरिने कानुनी व्यवस्था छ । कार्यक्रम व्यवस्थित रूपमा सञ्चालनका लागि सिनियर अनमी करुणा आङ्बो र हेल्थ असिस्टेन्ट विष्णु निरौलालाई स्रोत व्यक्तिको जिम्मेवारी दिइएको स्वास्थ्य कार्यालयका प्रमुख महेश सुनारले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार किशोर–किशोरीमा सही स्वास्थ्य ज्ञान, मानसिक स्वास्थ्य प्रवर्धन, जोखिमपूर्ण व्यवहार न्यूनीकरण तथा सुरक्षित भविष्य निर्माणका लागि स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, समुदाय र सरोकारवाला निकायबिच समन्वयलाई प्राथमिकता दिइनेछ ।


