इटहरी। साउनको पहिलो सोमबार देशभरका शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। यसैक्रममा धनकुटाका विभिन्न धार्मिकस्थल तथा शिवालय मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
साउने सोमबार भगवान् शिवको पूजा–आराधना गर्न भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका हुन्। धनकुटाका विश्रान्ति मन्दिर, पाख्रीबासस्थित शिव मन्दिर र लेगुवास्थित नागेश्वर शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार विश्रान्ति मन्दिरमा धनकुटासहित छिमेकी जिल्लाबाट समेत हरेक वर्ष ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्। साउनको पहिलो सोमबार धनकुटा सदरमुकामसहित जिल्लाका सातवटै स्थानीय तहमा रहेका शिवालय मन्दिरमा पूजा–आराधना र दर्शनका लागि भक्तजन पुगेका छन्। देशभरका शिवालयमा पनि श्रद्धालुको उपस्थिति बढेको छ।
हिन्दू धर्ममा साउन महिनालाई विशेष धार्मिक महिनाका रूपमा लिने गरिन्छ। साउनमा व्रत, दान तथा पूजापाठ गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। पुराणहरूमा साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष गरी विभिन्न प्रकारका सोमबार व्रतको चर्चा गरिएको पाइन्छ। अन्य व्रतजस्तै सोमबारको व्रत पनि सूर्योदयदेखि प्रारम्भ गरी तेस्रो प्रहरसम्म बस्ने धार्मिक मान्यता रहेको छ। व्रतका दिन साँझ सात्त्विक भोजन गर्ने परम्परा रहेको छ।
यस वर्ष साउन महिनामा चार वटा सोमबार परेका छन्। धनकुटाका दर्जनौँ शिवालय तथा धार्मिकस्थलमा साउनको पहिलो सोमबार बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।


