इटहरी  । मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग नहुँदा नगर्दा इलामसहित तीन जिल्लामा सवारीसाधन आवागमनमा समस्या हुँदै आएको छ । 

मेची राजमार्गको राजदुवाली सडकखण्ड दबिने क्रमसँगै पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएपछि झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने र यी जिल्लाबाट झापा हुँदै अन्यत्र जाने सावारीसाधन सञ्चालनमा समस्या आएको हो । मेची राजमार्गको विकल्प भए पनि विकल्प खोज्ने काममा डिभिजन सडक कार्यालय इलामसहितका सरोकारवाला निकायले ध्यान नदिँदा समस्या थप जटिल बन्दै गएको छ । माईखोला ९राजदुवाली० सडकखण्ड मर्मत सम्भव नहुने भए पनि सडक कार्यालयले गत वर्षदेखि उक्त स्थान कोट्याउन छोडेको छैन । उक्त क्षेत्र पहिरोमा परिणत हुँदा पनि सडकले कोट्याउन छोडेको छैन । मेची राजमार्गको राजदुवाली सडकखण्ड पूर्ण रूपमा बन्द भएपछि सिमल गोलाई–तिल्केनी सडकबाट साना सवारी आउजाउ गरे पनि ठुला सवारीसाधन ठप्प भएका छन् । उक्त कच्ची सडकको जोगमाई खोलामा गत सालको असोज १८ र १९ को बाढीले बेलीब्रिज बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको छ । उक्त डाइभर्सनको समेत भर छैन । इलाम उद्योण वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेल तत्काल मेची राजमार्ग ९राजदुवाली० को विकल्प खोज्नुपर्ने बताउनुहुन्छ । पटक पटक पहल गर्दासमेत सरोकारवाला निकायले विकल्प खोज्न ध्यान नदिएको अध्यक्ष पौडेलले बताउनुभयो । 

मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको रूपमा रहेको केचना–कञ्चनजङ्घा सडक निर्माणमा भएको ढिलाइका कारण उक्त सडकसमेत सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकाय गम्भीर नबन्दा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले सास्ती आगामी दिनमा पनि भोग्नुपर्ने भएको छ । इलाम नगरपालिकाका नगरप्रमुख केदार थापा डिभिजन सडक कार्यालयको जिद्दी पनका कारण वैकल्पिक मार्ग निर्माण गर्न नसकिएको बताउनुहुन्छ । डिभिजन सडक कार्यालयले सङ्घीय सरकार अन्तर्गतको राजमार्ग नै मर्मत र निर्माण गर्नुपर्ने कानुनी जटिलता देखाएर वैकल्पिक सडक निर्माण गर्न दिएको छैन । डिभिजन सडक प्रमुख पवन भट्टराई कानुनी जटिलताका कारण राजदुवाली सडकमै ध्यान दिनु परेको बताउनुहुन्छ । सरोकारवालाले सङ्घीय सरकारलाई सिफारिस गरी वैकल्पिक मार्ग खोज्न पहल गर्दा मन्त्रीपरिषद्ले निर्णय गरी विकल्प दिन सक्ने व्यवस्था भने रहेको छ । उक्त कार्यमा भने लामो समय सडक सास्ती हुँदा पनि सरोकारवाला निकायले ध्यान दिएको छैन । 

मेची राजमार्ग पटक पटक अवरुद्ध भइरहँदा वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजङ्घा सडक ९मेची कोरिडोर० निर्माणमा भएको ढिलाइले पूर्वी पहाडका तीन जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका नागरिकलाई थप सास्ती दिएको छ । राजमार्ग अवरुद्ध हुँदा सहज यात्रा हुने अपेक्षा गरिएको यो सडक बर्सौंदेखि अलपत्र जस्तै बन्दा जनजीवन प्रभावित बनेको हो । मेची राजमार्ग हुँदै झापाको बिर्तामोड पुग्न करिब ८६ किलोमिटर दुरी पार गर्नु पर्छ तर केचना–कञ्चनजङ्घा सडक निर्माण सम्पन्न भएको खण्डमा उक्त दुरी घटेर करिब ४८ किलोमिटरमा सीमित हुने छ । खड्का–कृष्ण–सक्षम जेभीले २०७८ असार २९ गते दुई वर्षभित्र काम सक्ने गरी २७ करोड २१ लाख ५३ हजार रुपियाँमा ठेक्का लिएको थियो । साढे नौ किलोमिटर लम्बाइको गोलाखर्क भन्ज्याङ–बेलासे खण्डको म्याद २०८० पुस २९ सम्म तोकिएको थियो । निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थपिँदै २०८३ साल असोजसम्म पु¥याइएको छ । पाँच वर्ष बित्न लाग्दासमेत परियोजनाको भौतिक प्रगति जम्मा ४६ प्रतिशतमा सीमित रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन प्रमुख भट्टराईका अनुसार ठेक्कामा सडक चौडा बनाउने, नाली निर्माण, टेवा पर्खाल, ह्युम पाइप, कलभर्ट, सबबेस, बेस र कालोपत्रे गर्ने सम्पूर्ण काम समेटिएको भए पनि अहिलेसम्म एक फिट पनि कालोपत्रे भएको छैन । इलाम भ्रमणमा आउनुभएका सङ्घीय सरकारका पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बेलासे–राकसे–गोलाखर्क भन्ज्याङ खण्डको काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोड्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिनुभयो । पछि निर्माण कम्पनीलाई अन्तिम मौका दिने भन्दै ठेक्का तोड्ने प्रव्रिmया रोकिएको थियो । त्यसपछि पनि कामले गति लिन सकेको छैन । पुवाखोलामा निर्माण गर्ने भनिएको बेलीब्रिजसमेत निर्माण हुन नसक्दा वैकल्पिक उपाय खोज्न नसकेको पाइएको छ । इलाम जिल्लाको फिक्कल नयाँबजार सडकको मयुँखोला, माङसेबुङको गजुरमुखी क्षेत्रमा देउमाईखोला र फाकफोकथुम गाउँपालिकाका विभिन्न खोलामा आएको बाढीले पुल बगाएपछि यी क्षेत्रमा समेत यातायात सञ्चालनमा समस्या पर्दै आएको छ । खोटाङ समाचारदाताका अनुसार बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्धको ज्यान गएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पास्थित माम्खाकी ४३ वर्षीय शान्ता राईलाई घरनजिकै छाङ्गेखोलामा मृत अवस्थामा भेटिएको थियो । केपिलासगढी गाउँपालिका–४, बाक्सिला गैरीगाउँस्थित ७१ वर्षीय पर्शुराम परियार खहरे खोल्सा तर्ने व्रmममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक नीराजन बस्नेतले जानकारी दिनुभयो । 

फुङलिङ समाचारदाताका अनुसार ताप्लेजुङमा एक वर्षमा विपत्का घटनामा परी १० जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८२÷८३ को एक आर्थिक वर्षको अवधिमा विपत्का घटनामा परी १० जनाको मृत्यु भएको हो । जसमा एक आर्थिक वर्षमा ९१ वटा विपत्का घटना भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनाबाट पाँच महिला, चार पुरुष र एक बालिका गरी कुल १० जनाको मृत्यु भएको हो । आगलागीका घटनामा परी चार जना, बाढीमा परी दुई जना, पहिरोमा परी दुई जना, चट्याङका कारण एक जना र लेक लागेर एक जनाको ज्यान गएको हो । विपत्का घटनामा परी १६ पुरुष, १० महिला, पाँच बालक र एक बालिका गरी जम्मा ३२ जना घाइते भएको प्रशासन कार्यालयले जनाएको छ । चार पुरुष र एक बालिका गरी पाँच जना विपत्का घटनाबाट बेपत्ता भएका छन् । विपत्का घटनामा परी २६ वटा घर, तीन वटा उद्योग र नौ वटा पुलमा क्षति पुगेको समेत प्रशासन कार्यालयले जनाएको छ ।