इटहरी । विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।
आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार यस नाकाबाट ४९ अर्ब ९८ करोड ८४ लाख रुपियाँ बराबरको २२ करोड ५४ लाख ६५ हजार ४७० केजी प्रशोधित भटमासको तेल निर्यात भएको छ । भन्सार कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार निर्याततर्फ भटमासको तेलपछि सिन्थेटिक यार्न र जुटजन्य सामग्रीको हिस्सा मुख्य रहेको छ । दोस्रो सूचीमा रहेको सिन्थेटिक यार्न ८ अर्ब २३ करोड रुपियाँको निर्यात भएको छ भने ७ अर्ब २६ करोड रुपियाँ बराबरको जुटको बुनिएका तयारी बस्तुहरु ९बोरा० निर्यात भएका छन् ।
यस्तै, २ अर्ब ७४ करोडको जुटको बोरा तथा झोला, २ अर्ब ५१ करोडको अन्य जुटको कपडा, १ अर्ब ६९ करोडको भेनीयर सीट, १ अर्ब ६६ करोडको प्रशोधित सूर्यमुखी तेल, १ अर्ब ४० करोडको स्पोर्टस जुत्ता, १ अर्ब २८ करोडको तामाको पाता र १ अर्ब एक करोड रुपियाँ बराबरको चाउचाउ तथा पास्ता निर्यात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । आयाततर्फ भने कच्चा पदार्थ र इन्धनको परिमाण उल्लेख्य रहेको छ । सबैभन्दा बढी राजस्व प्राप्त भएका वस्तुहरूमा कच्चा भटमासको तेल, पोलिथिन दाना, एलपी ग्यास, एचआर सिट र कपर वायर रहेका छन् ।
कच्चा भटमासको तेलको आयातबाट मात्रै वार्षिक २ अर्ब ६० करोड रुपियाँ राजस्व संकलन भएको छ । मूल्यका आधारमा असार महिनामा मात्रै ४ अर्ब ५२ करोड रुपियाँ बराबरको कच्चा भटमासको तेल आयात भएको छ । विराटनगर भन्सारले आर्थिक वर्ष २०८२र८३ का लागि ४१ अर्ब ३४ करोड ८० लाख रुपियाँ राजस्व लक्ष्य निर्धारण गरेकोमा ८५।५६ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कार्यालयले वर्षभरिमा ३५ अर्ब ३७ करोड ६७ लाख रुपियाँ राजस्व संकलन गरेको छ । असार महिनामा मात्रै ३ अर्ब ५९ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ८३।६४ प्रतिशत अर्थात् ३ अर्ब २ करोड ५७ लाख रुपियाँ असुली भएको जनाएको छ । यो वर्ष विराटनगर नाकाबाट हुने कुल व्यापारमा आयातको हिस्सा ठुलो भई विगतको जस्तै व्यापार घाटा उच्च नै रहेको छ ।
यहाँबाट वर्षभरिमा २ खर्ब ४१ अर्ब ६५ करोड ९९ लाख रुपियाँको आयात भएको छ भने निर्यात ८८ अर्ब ७२ करोड ८४ लाख रुपियाँको मात्रै भएको छ । यद्यपि गत वर्षको तुलनमा व्यापार घाटा भने घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा यो वर्षको कारोबारमा केही सकारात्मक संकेतहरू देखिएका छन् । गत वर्ष २० अर्ब ९० करोडको आयात भएकोमा यस वर्ष १६ प्रतिशतले आयात बढेर २ खर्ब ४१ अर्ब पुगेको छ । निर्याततर्फ पनि गत वर्ष ७ अर्ब ३७ करोडको कारोबार भएकोमा यस वर्ष २० प्रतिशतले वृद्धि भई ८ अर्ब ८७ करोड पुगेको छ । समग्र व्यापारमा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतको वृद्धि देखिएको छ । तर, राजस्व असुलीको लक्ष्य भेटाउन भने कार्यालयलाई सकस परेको तथ्यांकले देखाएको छ ।


