इटहरी । सुनसरीको रामधुनी नगरपालिका–५, झुम्कामा निर्माण गरिएको मिनी पार्क सञ्चालनमा आएको छ । झुम्का बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा निर्माण गरिएको पार्क स्थानीय बासिन्दाको घुमफिर, मनोरञ्जन र विश्रामको नयाँ गन्तव्य बनेको छ ।
आर्थिक वर्ष २०८०र८१ देखि वडा कार्यालयले निर्माण सुरु गरेको पार्क अहिले अन्तिम चरणमा पुगेपछि खुला गरिएको छ । करिब छ सय मिटर लम्बाइमा फैलिएको पार्कमा विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपिएको छ । सिमेन्टबाट निर्मित फलैँचा, बालबालिकाका लागि पिङ, चिप्लेटी, विश्रामस्थल र बुद्धको मूर्ति स्थापना गरिएको छ । रामधुनी मन्दिर जाने मुख्य सडक पार्ककै छेउबाट जाने भएकाले पार्कमा भगवान् श्रीरामको मूर्ति पनि राखिएको छ, जसले पार्कको धार्मिक तथा पर्यटकीय आकर्षण बढाएको छ । रामधुनी नगरपालिका–५ का वडाध्यक्ष भोला बास्तोलाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका व्यक्तिले स्वच्छ वातावरणमा समय बिताउन, हिँडडुल गर्न र मनोरञ्जन लिन सकून् भन्ने उद्देश्यले पार्क निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार नहरको शीतल हावा, हरियाली वातावरणले पार्कलाई थप आकर्षक बनाएको उहाँको भनाइ छ ।
पार्क निर्माणमा वडा कार्यालयको करिब ४० लाख रुपियाँ, सङ्घीय सरकारबाट प्राप्त ४० लाख बजेटबाट पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष बाँस्तोलाले जानकारी दिनुभयो । उपभोक्ता समितिमार्फत सुरु गरिएको निर्माण पछिल्लो चरणमा वडा कार्यालयबाटै सञ्चालन भइरहेको उहाँले बताउनुभयो । पार्क सञ्चालनमा आएपछि झुम्का तथा आसपासका क्षेत्रका बालबालिका, युवा र ज्येष्ठ नागरिकको दैनिक चहलपहल बढेको छ । विशेष गरी साँझपख पार्कमा घुम्न आउने, परिवारसँग समय बिताउने र विश्राम गर्नेको उल्लेख्य भिड बढ्दै गएको छ । रामधुनी–५ का ८४ वर्षीय ज्येष्ठ नागरिक हस्ताबहादुर विष्टले मिनी पार्कले आफूहरू जस्ता ज्येष्ठ नागरिकलाई भेटघाट र सामाजिक घुलमिल गर्ने वातावरण बनेकोे बताउनुभयो । रामधुनी–२ का युवा प्रमोद कट्वालले यस्ता पार्क नगरपालिकाका अन्य वडामा पनि निर्माण गरिनुपर्ने बताउनुभयो ।
निर्माणका बाँकी काम सम्पन्न भएपछि पार्क अझ व्यवस्थित र आकर्षक बन्ने वडा कार्यालयले जनाएको छ । स्थानीय तहको पहलमा निर्माण भएको पार्कले झुम्का क्षेत्रको सौन्दर्य वृद्धि गरेको छ । पार्क स्थानीयवासीका लागि स्वस्थ, मनोरञ्जन र सामाजिक अन्तव्रिर्mयाको साझा थलो बन्दै गएको बताइएको छ ।


