इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–फलाटे जोड्ने करिब साढे ६ किलोमिटर सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
तोकिएको समयभित्र सडक स्तरोन्नतिको काम सम्पन्न हुन नसक्दा स्थानीयवासी दैनिक आवतजावतमा समस्या भोग्न बाध्य भएका हुन्।सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि सङ्घीय सरकारको बजेटबाट १९ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो। काठमाडौंस्थित वल्ड वाइड कन्सल्टेन्सी कम्पनी प्रालिले निर्माणको जिम्मा लिएको उक्त सडकको ठेक्का आर्थिक वर्ष २०७९र८० को बजेटबाट २०७९ माघमा लागेको थियो। सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म निर्माणले गति लिन सकेको छैन।
अहिले सडकमा कटिङ, नाली निर्माण, ड्रेन तथा ग्याबिन भर्ने कामबाहेक अन्य काम हुन सकेको छैन। स्थानीय ध्रुव पौडेलले सडक स्तरोन्नतिको काम ढिलाइ हुँदा दैनिक आवतजावतमा समस्या भएको बताउनुभयो। उहाँका अनुसार वर्षायाम सुरु भएसँगै पानी पर्दा साना सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको छ। कतिपय स्थानमा स्थानीय दुई घण्टासम्म पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन्।सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर रमेशकुमार गोइतले बजेट अभावका कारण करिब एक वर्ष निर्माण कार्य रोकिएको बताउनुभयो। उहाँका अनुसार २०८२ वैशाखसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण निर्माण प्रभावित भएको हो।
उहाँले लगानी ठुलो भएकाले म्याद थप नगर्दा आयोजना र स्थानीय दुवैलाई समस्या पर्ने भएकाले निर्माणलाई अघि बढाइएको बताउनुभयो। सडक डिभिजन कार्यालय धनकुटाले यसअघि एक वर्षअघि नै करिब ४० प्रतिशत काम सम्पन्न भएको जनाएको थियो। कार्यालयले तीव्र गतिमा काम भइरहेको र तोकिएको समयभित्रै सम्पन्न गर्ने दाबी गरे पनि पछिल्लो समय निर्माणको गति सुस्त देखिएको छ। सडक कच्चा रहेकाले स्तरोन्नति र कालोपत्रेमा ढिलाइ हुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका छन्। सडक निर्माण भएपछि कृषि उपज बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरेका स्थानीय अहिले उत्पादन बिक्री गर्नसमेत समस्या भएको बताउँछन्।
स्थानीय बाबुराम भण्डारीले सडक नबन्दा कृषि उत्पादन, तरकारी तथा खाद्यान्न बजारसम्म लैजान कठिनाइ भएको बताउनुभयो। पाख्रीबास बजार हुँदै राम्चेडाँडा, निन्दोभाने, डाँडाखर्क हुँदै फलाटे बजारसम्म पुग्ने यो सडक छिमेकी जिल्ला भोजपुर जोड्ने मुख्य मार्गसमेत हो। सडक निर्माणमा ढिलाइ हुँदा भोजपुरका स्थानीयसमेत प्रभावित भएका छन्।
सडक निर्माण सम्पन्न भएपछि पाख्रीबास नगरपालिका–४, ६, ७ र ८ नम्बर वडाका स्थानीयसहित भोजपुरका धेरै बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ। सडककै कारण शिक्षा, स्वास्थ्य र स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको स्थानीयको भनाइ छ।


