इटहरी । कोशी प्रदेशकै प्रतिष्ठित विद्यालय सुकुना माविमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सङ्गीत शिक्षक भीम नेपाल पनि पक्राउ परेका छन्। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ।

हेर्नुहोस् सार्वजनिक भएको स्क्रिनसट।

11

मोरङ प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटहरूका आधारमा विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, बस चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छेदारलाई सोमबार बिहान पक्राउ गरेको थियो।

घटना सार्वजनिक भएपछि फरार रहेका सङ्गीत प्रशिक्षक भीम नेपाललाई भने सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए।

‘हामीले थप एक जनालाई पक्राउ गरेका छौँ। केही बेरमै विस्तृत विवरण सार्वजनिक गर्छौँ। पक्राउ परेकाहरूको आज म्याद थप गर्ने तयारी भइरहेको छ,’ डीएसपी मिश्रले भने।

सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटमध्ये सबैभन्दा गम्भीर च्याट भीम नेपालसँग सम्बन्धित रहेको देखिन्छ। सार्वजनिक च्याटमा उनले एक विद्यार्थीलाई, ‘मेरो रूममा आऊ न, यतै खाना बनाऔँ, खाऔँ, बसौँ अनि बिहान सँगै जाऔँला,’ भन्दै सन्देश पठाएको देखिन्छ।

हेर्नुहोस् सार्वजनिक भएको स्क्रिनसट।

2

सुकुना माविले निलम्बन गरेका तीन जनामध्ये भीम नेपाल पनि एक हुन्। विद्यालयको आधिकारिक फेसबुक पेजमार्फत सोमबार सार्वजनिक गरिएको सूचनामा शिक्षक तथा लेखा अधिकृत अविरल मास्के, बस चालक प्रदीप भट्टराई र सङ्गीत शिक्षक भीम नेपाललाई आचरणविपरीत कार्य गरेको भन्दै निलम्बन गरिएको उल्लेख छ।

यस प्रकरणमा विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेतको नामसमेत जोडिएको छ।  यो प्रकरणमा प्रवेश तामाङ र किशोर दाहालसहित अन्य शिक्षकहरूको नाम पनि जोडिएको छ। उनीहरूलगायत अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। सार्वजनिक भएका स्क्रिनसटअनुसार प्रधानाध्यापक बस्नेतले अप्रिल ४ मा राति १०:२७ बजे केही सन्देश पठाएर हटाएको देखिन्छ। त्यसमा विद्यार्थीले ‘इटहरी हो किन सर?’ भन्दै जवाफ दिएको देखिन्छ।

त्यसपछि अप्रिल २६ मा राति ८:२७ बजे उनले ‘तपाईंको स्टाटस इन्फर्मेटिभ देखिन्छ, त्यसैले...’ भन्दै सन्देश पठाएका छन्। सोही दिन राति १०:०८ बजे उनले ‘सुत्नुभयो?’ भन्दै अर्को सन्देश पठाएको स्क्रिनसटमा देखिन्छ।

हेर्नुहोस् सार्वजनिक भएको स्क्रिनसट।

3


विद्यालयसँग सम्बन्धित विषय नभएको अवस्थामा राति १० बजे ‘सुत्नुभयो?’ भन्दै सन्देश पठाउनुको नियतमाथि सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ। साथै, अन्य शिक्षकहरूको व्यवहारबारे आवाज उठाउँदा विद्यालयको बदनाम हुन्छ भन्दै घटनालाई सामसुम पार्ने प्रयास गरेको आरोपसमेत प्रधानाध्यापक बस्नेतमाथि सामाजिक सञ्जालमा लगाइएको छ।

यससँगै विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लागेका अन्य शिक्षक तथा कर्मचारीहरूको नाम पनि सार्वजनिक हुँदै गएको छ।

सामाजिक सञ्जालमा ‘सुकुना फाइल्स’ नाम दिइएको गुगल ड्राइभ फोल्डरमा शिक्षकहरूले पठाएको भनिएका सन्देशका स्क्रिनसटहरू राखेर सार्वजनिक गरिएको छ।