इटहरी । जीवनभर कमाएको धन, शक्ति, पद र प्रतिष्ठाले मृत्युको सीमारेखा पार गरेपछि कुनै अर्थ राख्दैन। मानिसले पृथ्वीमा गरेका कर्म भने मृत्युपछि पनि उसलाई पछ्याइरहन्छन्। यही गहिरो दार्शनिक सन्देशलाई केन्द्रमा राखेर मञ्चन गरिएको ‘पापसाला’ नाटकले मनोरञ्जनसँगै दर्शकलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।

काठमाडौँको इस्लिङ्टन कलेजस्थित कुमारी हलमा पहिलोपटक मञ्चन गरिएको यो नाटकपछि इटहरीमा दैनिक दुई–दुई शोसहित चार प्रस्तुति गरिएको थियो। नाटकका लेखक तथा प्रमुख कलाकार सुगम दुलाल ९यशप्रताप निरौला० का अनुसार इटहरीमा पनि दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो। उनका अनुसार आजको डिजिटल युगमा मानिसहरू मोबाइलमै बढी केन्द्रित हुने भएकाले करिब एक घण्टासम्म एउटै कथामा दर्शकलाई बाँधेर राख्नु चुनौतीपूर्ण थियो। तर समाजको परिवेश, स्थानीय स्वादका पात्र र सहज संवादका कारण दर्शक अन्तिम दृश्यसम्म कथासँग जोडिइरहे। ‘पापसाला’ ले मानिसले आफ्नो पद, शक्ति, पेशा वा अधिकारको दुरुपयोग गर्दै गरेका पापपूर्ण कर्मको हिसाब अन्ततः तिर्नैपर्ने हुन्छ भन्ने सन्देश प्रभावकारी ढङ्गले प्रस्तुत गर्छ। पृथ्वीमा अरूमाथि अन्याय, शोषण र अत्याचार गर्ने पात्रहरू मृत्युपछि नरकमा पुग्दा पनि सम्मान र विशेष व्यवहारको अपेक्षा गर्छन्। तर नरकमा व्यक्तिको मूल्याङ्कन पद, सम्पत्ति वा प्रतिष्ठाका आधारमा होइन, उसले गरेको कर्मका आधारमा हुने तथ्य नाटकले स्पष्ट रूपमा देखाउँछ। यसरी ‘जस्तो कर्म, त्यस्तै फल’ भन्ने पूर्वीय दर्शनलाई नाटकले जीवन्त रूपमा मञ्चमा उतारेको छ।

नाटकमा प्रस्तुत पात्रहरू केवल काल्पनिक चरित्र होइनन्, समाजका विभिन्न वर्ग, पेशा र प्रवृत्तिको प्रतिनिधित्व गर्ने पात्र हुन्। त्यसैले दर्शकले कथाभित्र आफ्नै समाजको प्रतिबिम्ब देख्न सक्छन्। यही यथार्थपरक प्रस्तुतीकरणले नाटकलाई थप प्रभावशाली बनाएको छ।लेखक तथा कलाकार सुगम दुलाल ९यशप्रताप निरौला० ले निर्वाह गरेको प्रमुख भूमिका विशेष प्रशंसायोग्य देखिन्छ। संवाद प्रस्तुति, भावाभिव्यक्ति र पात्रको मनोविज्ञानलाई जीवन्त बनाउने उनको अभिनयले दर्शकलाई कथाभित्रै डुबाइदिन्छ। रूपसी महर्जनको भूमिकामा लुमन्ती महर्जनको अभिनय स्वाभाविक, परिपक्व र प्रभावशाली देखियो। भावनात्मक दृश्यदेखि गम्भीर क्षणसम्म उनले पात्रलाई विश्वसनीय रूपमा प्रस्तुत गरेकी थिइन्। भीष्म अधिकारीको भूमिकामा प्रज्वल दुलालले पनि सशक्त अभिनय प्रस्तुत गरेका छन्। संवादको लय, मञ्च उपस्थिति र पात्रअनुकूल अभिव्यक्तिका कारण उनले नाटकको प्रभावलाई थप उचाइ दिएका छन्।

यमराजको भूमिकामा अभिन थटालको अभिनय पनि उत्तिकै प्रभावशाली देखिन्छ। न्याय, दण्ड र कर्मको हिसाब प्रस्तुत गर्ने उनको पात्रले नाटकको मूल भावलाई अझ सशक्त बनाएको छ। नाटकको निर्देशन, प्रकाश संयोजन, ध्वनि प्रभाव र मञ्च सजावटले कथावस्तुको गम्भीरतालाई प्रभावकारी रूपमा उजागर गरेको छ। पात्रहरूको प्रवेश–निर्गमन तथा संवादको स्वाभाविक प्रवाहले दर्शकलाई अन्तिम क्षणसम्म कथासँग बाँधेर राख्न सफल भएको अनुभूति हुन्छ। लेखक सुगम दुलालका अनुसार ‘पापसाला’ को कथा फ्रान्सेली दार्शनिक तथा नाटककार जाँ–पोल सार्त्रको चर्चित नाटक ‘ल्य भ्हष्त’ बाट प्रेरित भए पनि त्यसलाई नेपाली समाज, संस्कृति, भाषा, परिवेश र सामाजिक यथार्थअनुसार नेपालीकरण गरिएको हो। मूल कथाको दार्शनिक आधारलाई कायम राख्दै नेपाली दर्शकले सहज रूपमा आत्मसात् गर्न सक्ने शैलीमा प्रस्तुत गरिएको उनले बताए।

नाटकमा सुरभि प्याकुरेलले गायन गरेकी छन् भने सङ्गीत सङ्गीत विश्वकर्माले दिएका छन्। त्यसैगरी, सृजनात्मक निर्देशकका रूपमा कर्भिका पोखरेलको भूमिका पनि उल्लेखनीय रहेको छ। दर्शकका अनुसार ‘पापसाला’ केवल मनोरञ्जनका लागि तयार गरिएको नाटक होइन, समाजलाई नैतिक चेतना दिने सशक्त रंगमञ्चीय प्रस्तुति हो। पृथ्वीमा गरेका पापले मृत्युपछि पनि मानिसलाई पछ्याइरहन्छ भन्ने मूल सन्देश बोकेको यो नाटकले वर्तमान समाजमा बढ्दो नैतिक विचलन, भ्रष्ट आचरण र मानवीय संवेदनाको क्षयप्रति गम्भीर प्रश्न उठाउँदै प्रत्येक व्यक्तिलाई आफ्ना कर्मबारे एकपटक सोच्न बाध्य बनाउँछ। समकालीन नेपाली रङ्गमञ्चमा दार्शनिक गहिराइ, सामाजिक चेतना र मनोरञ्जनलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सफल ‘पापसाला’ एउटा स्मरणीय नाट्यकृति बनेको छ।

दर्शकलाई केवल कथा सुनाएर फर्काउने होइन, आफ्ना कर्म, नैतिकता र जीवनप्रतिको दृष्टिकोणबारे पुनः सोच्न प्रेरित गर्ने क्षमता यस नाटकमा देखिन्छ। यही कारण ‘पापसाला’ मनोरञ्जनभन्दा माथि उठेर समाजलाई प्रश्न गर्ने, चेतना जगाउने र आत्मसमीक्षातर्फ डोर्‍याउने सशक्त रंगमञ्चीय प्रस्तुति बनेको अनुभूति दर्शकले गरेका छन्।