इटहरी । सुनसरीको इटहरीमा ‘बाल अधिकार प्रवद्र्धन तथा अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

भोइस अफ चिल्ड्रेनको आयोजनामा मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो। पछिल्लो समय सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगसँगै बालबालिकामाथि हुने अनलाइन यौन दुव्र्यवहार, साइबर बुलिङ र शोषणका घटनाहरू बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको हो। सडक बालबालिका तथा यौन हिंसापीडित बालबालिकाहरूको संरक्षण गर्दै आएको संस्थाले अधिकांश बालबालिकाहरू इन्टरनेटको दुनियाँमा रमाउन थालेको र यसले भविष्यमा निम्त्याउन सक्ने जोखिमबारे ध्यानाकर्षण गराएको थियो।

कार्यक्रममा भोइस अफ चिल्ड्रेन सुनसरीका प्रमुख भरत थापाले अनलाइन बाल यौन दुव्र्यवहार नियन्त्रण र संस्थाले पु¥याउँदै आएको योगदानबारे जानकारी दिनुभयो । संस्थाले विगत २४ वर्षदेखि सडक बालबालिकाको पारिवारिक तथा सामाजिक पुनर्मिलन, बाल यौन शोषण र दुव्र्यवहारमा परेकाहरूको संरक्षण एवं जोखिममा रहेका परिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभययो । कार्यक्रम संयोजक गोविन्द कोइरालाले बालबालिकामा हुने साइबर अपराध, चुनौती, विद्यमान कानुन र समाधानका उपाय समेटिएको जनचेतनामूलक दृश्य सामग्री प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्ष अमर खड्काले उपस्थित सञ्चारकर्मीहरूलाई साइबर सुरक्षा सम्बन्धी उपयोगी जानकारी तथा सन्देश प्रदान गर्नुभएको थियो ।