इटहरी । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले शपथ ग्रहणसँगै नियुक्तिपत्र लिएका छन्।
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको कार्यक्रममा उनीहरुले सपथ सँगै नियुक्ति लिएका हुन् । उनीहरुलाई सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले शपथ खुवाउनुभएको हो । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लीलाराज भट्टराई नियुक्त हुनुभएको थियो । उहाँहरूले यसअघि नै शपथ र नियुक्ति लिइसक्नुभएको छ ।
सदस्यमा शान्ति दाहाल , धुर्व ढकाल , रमेश चन्द्र अधिकारी ,अर्जुन राजबंशी र विष्णुप्रसाद पोखरेल ,माला पालुङ्गवा र रेणु पराजुलीले सपथसँगै नियुक्ति लिनुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले प्रतिष्ठानमा नियुक्त भएका सबै पदाधिकारीलाई इमान्दारिताका साथ काम गर्न आग्रह गर्नुभयो । सरकारसँगै रहेको बताउँदै मन्त्री पराजुलीले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिष्ठानले प्रदेशभित्रको पत्रकारिता क्षेत्रको विकास प्रवद्र्धन र सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गनुृभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राज्यमन्त्री उमाकान्त गौतम, प्रदेश सरकारका प्रतिनिधि, मन्त्रालयका उच्च पदाधिकारी तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


