इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गरेको छ ।
विद्यालयले निष्पक्ष छानबिनबाट दोषी ठहर हुनेलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र निर्दोषमाथि अनावश्यक आरोप नलगाउन पनि सबैसँग अपिल गरेको छ । प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका गुनासाप्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा विद्यालयका शिक्षक तथा कर्मचारीबाट भएका कमी–कमजोरी औँल्याई विद्यालय सुधारमा सहयोग पुर्याउने प्रयासको स्वागत गरिएको छ । साथै पीडितले न्याय पाउनुपर्ने र दोषी प्रमाणित हुने शिक्षक–कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने विद्यालयको स्पष्ट धारणा रहेको जनाइएको छ ।
विद्यालयले आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी सम्बन्धित निकायको अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ । सम्बन्धित निकायबाट निष्पक्ष छानबिन प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै त्यसको निष्कर्ष पर्खन सबैसँग आग्रह गरिएको छ । विद्यालयले सामाजिक सञ्जालमा प्रमाण र तथ्यबिना निर्दोष शिक्षक–कर्मचारीमाथि आरोप लगाउने, मनोबल गिराउने तथा विद्यालयको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि भइरहेकाप्रति दुःख व्यक्त गरेको छ । यस्ता गतिविधिले अनुसन्धान प्रक्रियामा समेत असर पार्न सक्ने भएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा विद्यालयमा शिक्षण–सिकाइ वा अन्य विषयमा गुनासो भए विद्यालय प्रशासन, गुनासो सुनुवाइ समिति, विद्यालय व्यवस्थापन समिति, नगरपालिकाको शिक्षा शाखा वा स्थानीय प्रहरी प्रशासनमा सुरक्षित रूपमा जानकारी गराउन सकिने व्यवस्था गरिएको उल्लेख छ । त्यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र वडा प्रतिनिधिसहित पाँच सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरिएको पनि जनाइएको छ ।
यता प्रहरीले भने आरोप लागेका चार शिक्षक तथा कर्मचारीमाथि यसअघि नै पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । मोरङ प्रहरीले दिएको जानकारीअनुसार प्रदीप भट्टराई ९बस चालक०, किशोरलाल गच्छदार ९विज्ञान शिक्षक०, अबिरल मास्के ९लेखापाल० र भीमप्रसाद नेपाल ९नृत्य प्रशिक्षक० माथि बालबालिकाविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।


