इटहरी । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि च्यारिटी साइकल यात्रा’ भन्ने मूल नाराका साथ तरहरा साइकलिङ क्लबले ‘तरहरा कोरा २०२६’ आयोजना गर्ने भएको छ ।

सामाजिक उत्तरदायित्व र परोपकारी उद्देश्यलाई केन्द्रमा राखेर सञ्चालन गरिने कार्यक्रम आगामी २०८३ साल साउन ९ गते शनिबार आयोजना हुने बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो। आयोजकका अनुसार सहभागीहरू बिहान ५ः३० बजे उपस्थित हुनेछन् भने ६ः३० बजे औपचारिक उद्घाटनपछि ६ः४५ बजे साइकल यात्रा सुरु हुनेछ। तरहरा चोकबाट सुरु हुने यात्रा २६.१ किलोमिटर दूरी पार गर्दै बिहान १०ः३० बजे श्री जनसहयोग माध्यमिक विद्यालयमा पुगेर समापन हुनेछ। कार्यक्रममा ५५० भन्दा बढी साइकलप्रेमी सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले इटहरी उपमहानगरपालिकाका विभिन्न ३७ वटा रूट पार गर्दै जनसहयोग मार्गमा यात्रा समापन गर्नेछन्।

दर्ता भएका सहभागीलाई आधिकारिक तरहरा कोरा टी–सर्ट, रजिस्ट्रेसन टोकनका आधारमा फिनिसर मेडल तथा  ई–सर्टिफिकेट प्रदान गरिने आयोजक समितिका संयोजक मदन बस्नेतले जानकारी दिनुभयो । तिब्बती भाषामा ‘कोरा’ को अर्थ धार्मिक वा सांस्कृतिक स्थलको परिक्रमा गर्नु हो। यही अवधारणालाई आत्मसात गर्दै ‘तरहरा कोरा’मार्फत स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवद्र्धन र पर्यटन विकासमा योगदान पु¥याउने लक्ष्य राखिएको संयोजक बस्नेतले बताउनुभयो । यस वर्षको च्यारिटी फन्ड स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिने क्लबका अध्यक्ष सुरज क्षेत्रीले जानकारी दिनुभयो ।

संकलित रकमबाट निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन, जलबिन्दु तथा मोतिबिन्दुको पहिचान, विपन्न ज्येष्ठ नागरिकको निःशुल्क शल्यक्रिया, सरकारी तथा सामुदायिक विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन स्थापना, अटिजम स्क्रिनिङ क्याम्प सञ्चालन तथा विपन्न बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिने उहाँले बताउनुभयो । सहभागीहरूको सुरक्षा सुनिश्चित गर्न विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटललाई अफिसियल मेडिकल सपोर्ट पार्टनर नियुक्त गरिएको तरहरा साइकलिङ क्लबका पूर्वअध्यक्ष बहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा तीनवटा एम्बुलेन्स, नेपाल रेडक्रस, स्थानीय स्वास्थ्य संस्था, स्वयंसेवक, प्रदेश ट्राफिक प्रहरी तथा स्थानीय प्रहरी परिचालन गरिनेछ। वातावरणमैत्री, इन्धनरहित तथा शून्य कार्बन उत्सर्जन गर्ने यातायातका रूपमा साइकलको प्रयोगलाई प्रोत्साहन गर्दै स्वस्थ, सुरक्षित र सामाजिक रूपमा उत्तरदायी समाज निर्माणमा ‘तरहरा कोरा २०२६’ले सकारात्मक योगदान पु¥याउने आयोजकको विश्वास छ ।