इटहरी । धनकुटाका ७ वटै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो।
सेवाग्राहीलाई कार्यालय सम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। हुलाक सेवा विभाग मार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत सबै स्थानीय तहमा सेवा पुगेको जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार हालसम्म ८ पटकमा १ सय ६६ जनाले घरमै राहदानी सेवा लिएको छन्। जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले घरमै राहदानी सेवा विस्तार गरेको थियो।
विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता कम गर्न सेवा प्रभावकारी बनेको स्थानीयले बताएका छन्। गत बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच घरमै राहदानी पु¥याउन सम्झौता भएको र जेठ १ गतेबाट घरमै राहदानी सेवा सुरु गरिएको थियो। धनकुटामा १ सय ६६ वटा राहदानी घरमै पुगेर वितरण गरिएको र ३ जनाले सुरुमा ठेगाना दर्ता गरेकाले जिल्ला प्रशासन कार्यालयबाट बुझिलिएको जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। हुलाक मार्फत घरमै राहदानी पुगेपछि समय र खर्च दुवै बचत भएको सेवाग्राहीको अनुभव छ ।
यसअघि राहदानी तयार भएपछि लिनका लागि पुनः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो। तर, अहिले हुलाक सेवा विभागले जिल्ला प्रशासन कार्यालयसँग सम्झौता गरि स्थानीय तहसँग समन्वय गरी नागरिकको घरमै राहदानी पु¥याउने व्यवस्था मिलाइएको हो। ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सेवा थप प्रभावकारी बनाइने योजनामा रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पुष्पलाल धमलाले जानकारी दिनुभयो। सरकारले नागरिकको घरमै राहदानी र नागरिकता पु¥याउने योजना बनाए पनि नागरिकता भने सेवाग्राहीले आएर विवरण बुझाएको केही समयमै पाउने भएकाले हुलाकको प्रयोग गरिरहन नपरेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ।


