इटहरी । इलाका प्रहरी कार्यालय पथरीले लागू औषध नियन्त्रण, अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न निरन्तर सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।

कार्यालयले आज बिहीबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गत असार महिनामा भएका गतिविधिबारे जानकारी गराएको हो।

कार्यालय प्रमुख डीएसपी वीरदत्त पन्तका अनुसार असार महिनामा विभिन्न मुद्दामा २७ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये जबरजस्ती करणी जस्तो जघन्य अपराधमा २ जना, लागू औषध सम्बन्धी कसुरमा १० जना, चन्दा असुलीमा १ जना र चेक ठगीमा १ जना रहेका छन्। त्यस्तै, झुण्डिएर आत्महत्याका ५ वटा तथा भवितव्य ज्यान गएका ४ वटा घटनाको अभिलेख रहेको प्रहरीले जनाएको छ। फैसला कार्यान्वयनतर्फ चेक अनादरका २ जना, बैंकिङ कसुरका १ जना, अभद्र व्यवहारका ५ जना, सवारी दुर्घटनामा संलग्न ९ जना तथा किर्ते जालसाजीका १ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको र राजस्वसमेत असुल गरिएको डीएसपी पन्तले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न फैसला कार्यान्वयनका क्रममा १८ जनाबाट ४८३ हजार राजस्व असुली भएको बताउनुभयो।

लागू औषध दुव्र्यसनी नियन्त्रण अभियानअन्तर्गत २३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २० पुरुष, २ महिला र १ नाबालक रहेका छन्। उनीहरूको साथबाट २ सय दशमलव ९ ग्राम ४०० मिली ग्राम  ब्राउनसुगर, ३सय ४० मिलिग्राम ट्रामाडोल, ३ केजी ६ सय ग्राम गाँजा र २ हजार २ सय ४० वटा साइक्रोमाइन्ड चक्की बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये ८ जनालाई परिवारको जिम्मा लगाई सुधार केन्द्र पठाइएको छ। असार महिनामै पथरी–शनिश्चरे क्षेत्रमा झुण्डिएर आत्महत्या गरेका ५ जनामध्ये २ महिला र ३ पुरुष रहेका छन्।  यसैबीच, पथरी–शनिश्चरे र कानेपोखरी क्षेत्रमा २२ लाख ३५ हजार रुपैयाँ बराबरको अनलाइन ठगी भएको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। 

सवारी दुर्घटनातर्फ असार महिनामा २२ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा ३४ वटा सवारीसाधन संलग्न भएका र ३५ जना घाइते भएको डीएसपी पन्तले जानकारी दिनुभयो। सवारी नियम उल्लङ्घन गर्ने १ सय २५ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले पथरी, रमाइलो र कानेपोखरी क्षेत्रमा कारबाही गर्दै १ लाख २२ हजार ५ सय ३ रुपैयाँ जरिवाना असुल गरी राजस्व कार्यालयमा दाखिला गरेको छ। त्यसैगरी, भन्सारतर्फ कर छली कसुरमा ११ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ भने अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न एक ट्र्याक्टरलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

असार महिनामा दुईवटा आगलागीका घटना भएका छन्। ती घटनाबाट करिब ८ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। डीएसपी पन्तका अनुसार सोही अवधिमा प्रहरीले ९६ स्थानमा चेकिङ सञ्चालन गरेको, २ हजार ५६ वटा सवारीसाधन जाँच गरेको तथा शान्ति सुरक्षा व्यवस्थापनमा १ हजार २ सय ५०  बढी प्रहरी परिचालन गरिएको थियो।