इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बन्दुक पड्किए जस्तो आवाज आएको सूचनापछि खटेको प्रहरी टोलील ४० वर्षका स्थानीय चोककुमार शेर्मालाई नियन्त्रणमा लिएको हो । प्रहरीले शेर्माका साथबाट एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने चार थान छर्रा ९गोली० बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० अनिषकुमार कर्णले जानकारी दिनुभयो । 

शुक्रबार पक्राउ परेका शेर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँचथर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । पाँचथरमा पछिल्लो समय भरुवा बन्दुकसहित व्यक्ति पक्राउ पर्ने क्रम बढ्दै गएको छ । यसअघि पनि मिक्लाजुङ गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानबाट भरुवा बन्दुक बरामद हुनुका साथै बन्दुकसहित व्यक्तिहरू पक्राउ परिसकेका छन्। प्रहरीले यस्ता घटनामा संलग्न व्यक्तिविरुद्ध अवैध हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ । 

अवैध रूपमा हातहतियार राख्ने तथा प्रयोग गर्ने कार्य नियन्त्रणका लागि जिल्लाभर निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।