इटहरी। झापामा लागुऔषध कारोबारीहरूले प्रहरीलाई छल्न नयाँ–नयाँ तरिका अपनाउने गरेका छन्। कहिले जुत्ताको तलुवा, कहिले सवारीसाधनको गोप्य भाग, कहिले कपडाको सिलाइभित्र त कहिले खाद्यान्नका प्याकेटमा लुकाएर लागुऔषध ओसारपसार हुने गरेको छ।

तर यसपटक झापाको भद्रपुरमा प्रहरीले फेला पारेको घटना निकै गम्भीर र स्तब्ध बनाउने खालको रहेको छ। लागुऔषध ब्राउन सुगर कुनै झोला वा सवारीसाधनको गोप्य भागमा नभई दुई महिनाको शिशुले लगाएको डायपरभित्र लुकाइएको अवस्थामा फेला परेको हो।बुधबार साँझ करिब ५ः१५ बजे भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एउटा अटोलाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा अटोमा सवार दम्पतीसँग रहेको दुई महिनाको शिशुको डायपरभित्र प्लास्टिकमा पोको पारेर लुकाइएको ब्राउन सुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाका अनुसार प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लास्टिक हटाउँदा ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो। घटनामा अटो चालक भारतको किशनगञ्ज घर भई हाल बिर्तामोड–५ बस्ने ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन र सोही अटोमा सवार ३८ वर्षीय मोहम्मद तजरुललाई नियन्त्रणमा लिइएको छ। दुई महिनाको शिशुलाई भने कानुनी प्रक्रिया पूरा गरी संरक्षणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै लागुऔषध कारोबारीहरूले पछिल्लो समय नयाँ–नयाँ तरिका अपनाइरहेका छन्। शिशुलाई नै लागुऔषध ओसारपसारको माध्यम बनाइएको यो घटना पहिलोपटक फेला परेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार कारोबारीहरूले बालबालिकाको प्रयोग गर्दा प्रहरीको शंका कम हुने विश्वासमा यस्तो तरिका अपनाउने गरेका छन्।

भारतसँग खुला सीमा जोडिएको झापा लागुऔषध ओसारपसारको प्रमुख मार्गमध्ये एक मानिन्छ। पछिल्ला महिनाहरूमा प्रहरीले ब्राउन सुगर, औषधिजन्य लागुऔषधलगायत विभिन्न प्रकारका लागुऔषधसहित दर्जनौँ व्यक्तिलाई पक्राउ गरिसकेको छ। तस्करहरूले कहिले पैदल, कहिले मोटरसाइकल, कहिले सार्वजनिक सवारीसाधन र अहिले शिशुको डायपरसम्म प्रयोग गर्न थालेपछि लागुऔषध नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ।  यस घटनाले सुरक्षा निकायलाई थप सतर्क बनाउनुका साथै सीमा क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता अवाले बताउनुभयो। यसअघि पनि महिला तथा पुरुषले भित्री वस्त्रमा लुकाएर लागुऔषध ल्याउने गरेको पाइएपछि प्रहरीले जाँचमा कडाइ गर्दै आएको जनाएको छ।