इटहरी । मोरङको रतुवामाईमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका–४ भद्रचोकमा दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १०ः३५ बजेतिर दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका थिए । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएर इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट मापसे ९मादक पदार्थ सेवन० गरेर चलाएका कारण मोटरसाइकल दुर्घटनामा परेको पत्ता लागेको छ । प्रहरीले मापसे गरेर सवारीसाधन नचलाउन सबैमा आग्रह गरेको छ । मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएर मानवीय तथा भौतिक क्षति बेहोर्नुपर्ने न्यौपानेले बताए ।


