इटहरी । आमाको उपचारका लागि विराटनगर पुगेका मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको आफ्नै पेटमा सिसा प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार राजेन्द्र आफ्नी ६९ वर्षीया आमा राम्रिका राईको उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा बसेका थिए। साउन २ गते बिहान करिब ६ बजेतिर अस्पतालको पछाडिपट्टि पुगेका उनले घरको झ्यालमा प्रयोग हुने सिसाले आफ्नै पेटमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल गोल्डेन अस्पतालमै भर्ना गरी उपचार थालिएको थियो। उपचारकै क्रममा शुक्रबार साँझ करिब ७ बजे उनको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
मृत्युपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। आमाको उपचारका लागि अस्पतालमा बसेका राजेन्द्रले आफूमाथि सिसा प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने डीएसपी मिश्रले बताए।


