विराटनगर । प्रहरीको नियन्त्रणमा रहेका आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका सुधार केन्द्र सञ्चालक मुकेश कार्की पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–७ निवासी ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब ७ः३० बजे घरबाटै पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरीसँग लामो समयदेखि सम्पर्क र सम्बन्ध रहेको देखिएपछि अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिइएको हो। उनले गिरीसँगको सम्बन्ध, आर्थिक कारोबार, सम्पर्क सञ्जाल तथा हाल उनी संलग्न रहेका सबै गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको बताए। प्रहरी स्रोतका अनुसार कार्की गिरीका सबैभन्दा विश्वासिला सहयोगीमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्रोतका अनुसार गिरीको आर्थिक हिसाब–किताब राख्ने, विभिन्न आर्थिक गतिविधिको व्यवस्थापन गर्ने, आवश्यक समन्वय मिलाउने तथा बाहिरी सम्पर्कको जिम्मेवारी कार्कीले सम्हाल्दै आएको पाइएको छ। गिरीको समूहसँग आबद्ध भएर असुली, मिटरब्याज तथा अन्य आपराधिक गतिविधिमा समेत कार्कीको संलग्नता हुन सक्ने आशंकामा प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीले अहिले कार्कीसँग गिरीको आर्थिक सञ्जाल, सम्पर्कमा रहेका व्यक्तिहरू, सम्पत्तिको स्रोत र आपराधिक गतिविधिसँग जोडिएका विषयमा सोधपुछ गरिरहेको छ। डीएसपी मिश्रका अनुसार कार्की लामो समयदेखि प्रहरीको निगरानीमा थिए। उनीलाई पक्राउ गर्न यसअघि पनि प्रहरी टोली घरसम्म पुगेको थियो। तर, त्यसबेला उनी फेला नपरेपछि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।शनिबार बिहान भने आफ्नै निवासबाट उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो। कार्की विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएका व्यक्ति भएको पनि प्रहरीले जनाएको छ।

प्रहरीले कार्कीलाई मात्रै नभई अभिषेक गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि पनि कारबाहीको दायरा विस्तार गर्ने तयारी गरेको छ। गिरीको आपराधिक गतिविधिलाई सहयोग गर्ने, आर्थिक कारोबार मिलाइदिने तथा उनको समूहलाई संरक्षण गर्ने व्यक्तिहरूको विवरण प्रहरीले संकलन गरिरहेको स्रोतले जनाएको छ। प्रहरीले कडाइ गरेपछि गिरीको समूहमा आबद्ध भएर असुली, मिटरब्याज, धम्की तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका धेरै व्यक्ति अहिले सम्पर्कविहीन बनेको स्रोतको दाबी छ। गिरीको छत्रछायामा रहेर विराटनगरमा आतंक मच्चाउने, असुली र मिटरब्याजको धन्दा चलाउने, ठेक्कापट्टामा प्रभाव जमाउने तथा धम्की दिने समूहका सदस्यहरूको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ। फरार नभएका र विराटनगरमै सक्रिय रहेका केही व्यक्तिलाई निगरानीमा राखेर उनीहरूको गतिविधिबारे प्रमाण संकलन भइरहेको स्रोतले बताएको छ।  प्रहरी स्रोतका अनुसार गिरीसँग विभिन्न राजनीतिक दलका केही नेता तथा कार्यकर्ताको समेत निकट सम्पर्क देखिएको छ। ती व्यक्तिहरूमाथि पनि प्रहरीको निगरानी रहेको र आवश्यक परे अनुसन्धानको दायरामा ल्याइने स्रोतको भनाइ छ।

प्रहरीका अनुसार गिरीसँग ‘कनेक्सन’ देखिएका धेरै व्यक्ति कुनै न कुनै रूपमा आर्थिक वा आपराधिक गतिविधिमा जोडिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। यसअघि मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरी आर्थिक शोषण गरेको आरोपमा अभिषेक गिरी असार १३ गते विराटनगर–८ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए। प्रहरीको अनुसन्धानमा असार १२ गते कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ निकटका व्यक्तिमार्फत पुनः संकलन गरेर गिरीले आफूले लिएको खुलेपछि उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको थियो। गिरीले पक्राउविरुद्ध उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उच्च अदालतले उक्त रिट खारेज गर्दै पाँच दिनभित्र अनुसन्धान टुंग्याउन वा अनुसन्धान नसकिए हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन असार १७ गते प्रहरीका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। त्यसपछि मोरङ प्रहरीले असार २२ गते गिरीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा म्याद थपका लागि जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो।

जिल्ला अदालत मोरङले भने म्याद थप गर्न अस्वीकार गर्दै उच्च अदालतको आदेशअनुसार हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। अदालतबाट छुटे पनि गिरी भने रिहा हुन पाएनन्। किनभने उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो। जिल्ला अदालतबाट छुटेलगत्तै मोरङ प्रहरीले गिरीलाई पुनः नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो।mहाल गिरी सीआईबीको नियन्त्रणमा रहेका छन्। सीआईबीले उनीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई नौ वर्ष जेल सजाय काटेका व्यक्ति हुन्। उनी २०७९ चैत ५ गते जेलमुक्त भएका थिए।

प्रहरीका अनुसार कारागारमा चौकीदार रहेका बेला उनले कैदीबन्दीमाथि चरम यातना दिएर पैसा असुल्ने, रासन तथा लत्ताकपडाको भत्ता हडप्ने र बाहिर आफ्नो समूह परिचालन गरेर मिटरब्याजको धन्दा चलाउने गरेको आरोप लाग्दै आएको छ। प्रहरीको हालसम्मको अनुसन्धानबाट जेलबाट छुटेपछि पनि गिरीले कारागारभित्रको आर्थिक गतिविधि, मेस आपूर्ति तथा कैदीबन्दीको श्रम आम्दानीमा प्रभाव कायम राखेको देखिएको जनाएको छ। गिरीको घरमा गरिएको खानतलासीका क्रममा प्रहरीले पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो। मोरङ प्रहरीले गिरीसँग सम्बन्धित आर्थिक सञ्जाल, सहयोगी र सम्पर्कमा रहेका अन्य व्यक्तिमाथिको अनुसन्धानलाई अझ तीव्र बनाएको जनाएको छ।