इटहरी ।  मोरङको सुनवर्षी नगरपालिकामा चार वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ। सुनवर्षी–९ डाइनियास्थित मुस्लिम टोल निवासी जफारुल मियाँकी छोरी कायानत खातुन शुक्रबार साँझ घरदेखि करिब २०० मिटर पूर्व रहेको घाँसीबारीमा मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार बालिका शुक्रबार अपराह्नदेखि सम्पर्कविहीन भएपछि परिवार र स्थानीयले खोजी गरेका थिए। खोजीका क्रममा घाँसीबारीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा नभएको अवस्थामा रहेको र घटनाको प्रकृति हेर्दा तत्कालका लागि यौन हिंसाको संकेत नदेखिएको एसपी कटवालले बताए।

उनका अनुसार घटनास्थलको अवस्था र प्रारम्भिक तथ्यका आधारमा पुरानो रिसइबीका कारण बालिकाको हत्या गरी शव फालिएको हुन सक्ने आशंका गरिएको भए पनि त्यसको पुष्टि भइसकेको छैन। घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।  आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान भइनसकेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट प्रमाण संकलन, स्थानीयसँग सोधपुछ तथा सम्भावित संलग्न व्यक्तिको खोजीलाई तीव्र बनाएको छ।