इटहरी । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो आठौँ कार्यकालमा हासिल भएका प्रगति र आगामी योजनाबारे जानकारी गराएको छ। ‘स्वच्छ खानेपानी, स्वस्थ र सभ्य नागरिक’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको संस्थाले हाल ११ हजार धारामार्फत करिब एक लाख नागरिकलाई चौबीसै घण्टा शुद्ध खानेपानी उपलब्ध गराइरहेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बिर्तामोड नगरपालिकाका सबै १० वडा तथा अर्जुनधारा नगरपालिकाका वडा नं। ५, ६ र ११ का केही क्षेत्रमा नियमित रूपमा खानेपानी वितरण भइरहेको जानकारी दिए। उनका अनुसार ३ वटा ओभरहेड ट्यांकी, थप २ आयोजना र ५७५ किलोमिटर पाइपलाइनमार्फत सेवा विस्तार गरिएको छ। संस्थाले पूर्व–पश्चिम एसियन हाइवे विस्तारका क्रममा क्षति पुगेको पुरानो पाइपलाइन विस्थापन गर्दै चारआली–देउनिया पुलदेखि लक्ष्मीपुर–घाग्रा पुलसम्म दुवैतर्फ ६–६ किलोमिटर नयाँ पाइपलाइन बिछ्याइरहेको जनाएको छ। यसका साथै शनिश्चरे रोड र हर्कलाल मार्ग क्षेत्रमा एचडिपिइ पाइप विस्तार गरिएको छ।
संस्थाका अनुसार नयाँ डिप बोरिङ, फिल्टर प्लान्ट र पर्खाल निर्माणका लागि जग्गा खरिद गरिएको छ। अर्जुनधारा–६ मा निर्माणाधीन फिल्टर प्लान्ट तथा २०० केभीएको ट्रान्सफर्मर जडान अन्तिम चरणमा पुगेको छ। विराटपोखरको बोरिङबाट निकालिएको पानी शुद्धीकरण गरी गरामनी र सैनिक बजार क्षेत्रमा वितरण सुरु भइसकेको पनि जानकारी दिइयो। सेवालाई प्रविधिमैत्री बनाउन सम्पूर्ण पाइपलाइन, पम्प र भल्भको अवस्थाको अभिलेखीकरण गर्न जिआइएस प्रणाली लागू गरिएको संस्थाले जनाएको छ। उपभोक्ताका घरमा क्युआर कोडसहितको हाउस नम्बर प्लेट जडान गर्ने अभियान पनि जारी रहेको छ।
यसै आर्थिक वर्षभित्र बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा थप एक बोरिङ सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष बाँस्तोलाले बताए। बिर्तामोड नगरभित्र सञ्चालनमा रहेका साना खानेपानी योजनालाई क्रमशः एकीकृत सामुदायिक खानेपानी प्रणालीमा समेट्ने लक्ष्य राखिएको छ। साथै चारपाने चोकदेखि बाह्रदशी–हल्दीबारी सीमासम्मका उपभोक्तालाई सेवा विस्तार गर्न नयाँ आयोजना सञ्चालन गर्ने योजना पनि संस्थाले अघि सारेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष बाँस्तोलाले अव्यवस्थित जग्गा प्लटिङ, सडक तथा ढल निर्माणका कारण खानेपानीका पाइपलाइनमा बारम्बार क्षति पुगिरहेको बताए।
विगत तीन दशकअघि विस्तार गरिएका धेरै पाइपलाइन अहिले सडक विस्तारसँगै सडकको बीचभाग वा गहिराइमा परेकाले मर्मत र नयाँ धारा जडानमा कठिनाइ भइरहेको उनको भनाइ थियो। कार्यक्रममा संस्थाका सल्लाहकारहरू, पदाधिकारी, सदस्य, कर्मचारी तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गरेका थिए।


