इटहरी ।  मोरङ र सुनसरीमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको मिनी ट्रकको ठक्करबाट ज्यान गएको छ भने अर्का एक जना मोटरसाइकल दुर्घटनामा परेका हुन्। 

कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित शिवम् पेट्रोल पम्प नजिक साँझ करिब ५ः२० बजे मिनी ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको थियो। विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४३८८ नम्बरको मिनी ट्रकले बाटो काट्दै गरेका बेलबारी नगरपालिका–५ निवासी ४५ वर्षीय सन्ते खवासलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका खवासलाई तत्काल विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा राति १०ः१२ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनापछि ट्रक चालक फरार भएकाले उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित दर्लामी चोकमा मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मदन भण्डारी राजमार्गमा शुक्रबार दिउँसो करिब १ः३० बजे केराबारीबाट धरानतर्फ जाँदै गरेको मे १२ प २०३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा झापाको दमक निवासी ४५ वर्षीय गिरीराज शेर्माको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल अत्यधिक गतिमा रहेका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।