इटहरी ।  बिर्तामोड नगरपालिका–२ त्रिशुल चोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। 

राति करिब ११ बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी बरिष्ठ हवल्दार खमबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्माको साथबाट २ ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित इलाका प्रहरी कार्यालय अनारमनीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।