इटहरी । सुनसरी प्रहरीले रु। ७ लाख ९५ हजार बराबरका भन्सार छलीका लत्ताकपडा तथा तीन वटा मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान ६ः१५ बजे इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा अवैध रूपमा भन्सार छलीका सामान राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी पुगेपछि को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरीलाई देख्नासाथ सामान र मोटरसाइकल छाडेर फरार भएका थिए।
प्रहरीले घटनास्थलबाट अनुमानित रु। ७ लाख ९५ हजार बराबरका ५४२ थान कुर्ता–सुरुवाल तथा तीन वटा मोटरसाइकल बरामद गरेको जनाएको छ। बरामद गरिएका सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाइएको छ। फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


