इटहरी । पूर्वी नेपालमा पटक–पटक विद्युत् अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति बढ्दो जनगुनासोपछि नेपाल विद्युत् प्राधिकरण सक्रिय बनेको छ।
विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित बनाउन प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको हो। विराटनगरलगायत पूर्वी क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्यालाई तत्काल समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आवश्यक पहल गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो। टोलीले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ, सुनसरीलगायत जिल्लाका वितरण शाखा प्रमुखसँग विद्युत् आपूर्तिको अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ।
प्राधिकरणका अनुसार प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग समन्वयात्मक बैठक गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको छ। टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्थासमेत अवलोकन गरेको छ। अनुगमनका क्रममा सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्न कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ। त्यस्तै, मोरङको केरङस्थित सबस्टेसन एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
दुवै सबस्टेसन रणनीतिक रूपमा महत्वपूर्ण रहेकाले आवश्यक समन्वय र सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ।निर्माणको गति बढाउन पर्याप्त मजदुर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको प्राधिकरणले जनाएको छ। पूर्वी क्षेत्रमा सञ्चालित अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।विद्युत् सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न तथा आवश्यक समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिइएको प्राधिकरणले उल्लेख गरेको छ।


