इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका–२ स्थित भेडेटार–मान्दावा सडकखण्डबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार राति ११स्५५ बजे प्रहरी चौकी भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमान्डमा खटिएको टोलीले शंकास्पद रूपमा जाँच गर्दा गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र साँगुरीगढी–३ मादेनका ३२ वर्षीय मदन याखा रहेका छन्। लिम्बूले चलाएको को २ ह १२९ नम्बरको टेम्पो जाँच गर्दा प्लास्टिकका पाँच वटा बोरामा प्याक गरी बिक्रीका लागि लैजाँदै गरेको ७२ किलो ३५ ग्राम गाँजा बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो।
यस्तै, गाँजा बिक्रीका लागि ओसारपसारमा संलग्न मदन याखाले चलाएको प्र १–०४–००१ प ४७९१ नम्बरको मोटरसाइकल र उनीहरूको साथबाट दुई थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जना, नियन्त्रणमा लिइएका सवारी साधन र गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


