इटहरी ।  सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।   

शनिबार राति करिब ११ बजे झापा गाउँपालिका–५ पुरानो शरणामति निवासी २६ वर्षीय सुरेश हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको आरोपमा झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु, १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार उनीहरू धारिलो हतियार बोकेर हेमरमको घर घेराउ गर्दै ‘काटिदिन्छु, मारिदिन्छु’ भन्दै धम्की दिइरहेका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक चुक्तबहादुर विष्ट र प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले घटनास्थलबाट खुकुरी र छुरीसहित चारै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धानमा हेमरम र मुर्मुबीच फोनमार्फत भएको विवादकै रिसमा मुर्मुले अन्य तीन जनालाई साथमा लिएर हेमरममाथि आक्रमण गर्न गएको खुलेको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।