इटहरी । करिब डेढ महिनादेखि खेलकुद गतिविधिका लागि बन्द रहेको धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालनको तयारी सुरु गरिएको छ। जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान खुलाउने प्रक्रिया अघि बढाएको हो।
जिल्लाको प्रमुख खेलमैदानका रूपमा रहेको टुँडिखेलमा सशस्त्र प्रहरी, नेपाली सेना, पूर्वखेलाडी, वर्तमान खेलाडी तथा स्थानीयवासीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भइरहेको छ। मैदानमा बढेको घाँस–झार हटाउने, सतह सफा गर्ने र खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम भइरहेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले केही दिन सरसफाइ गरेपछि सामान्य मर्मतसम्भार गरी मैदान खेल गतिविधिका लागि खुला गरिने बताए। उनका अनुसार मैदानमा दुवो विस्तार, सतह सम्याउने र नियमित सरसफाइलाई प्राथमिकता दिइएको छ। साथै आगामी दिनमा प्रवेश तथा प्रयोगसम्बन्धी मापदण्ड बनाएर व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी पनि गरिएको छ।
टुँडिखेल बन्द हुँदा विद्यालयस्तरीय फुटबल प्रशिक्षण, भलिबल अभ्यास, एथलेटिक्सलगायत खेल गतिविधि प्रभावित भएका थिए। नियमित अभ्यासका लागि खेलाडीहरूले वैकल्पिक मैदान खोज्नुपर्ने अवस्था सिर्जना भएको थियो। जिल्ला खेलकुद विकास समितिका प्रमुख नवीन प्रधानले सरसफाइ र आवश्यक मर्मत सम्पन्न भएपछि मैदान चाँडै खेलाडीका लागि खुला गरिने जानकारी दिए। धनकुटा फुटबल संघका पूर्वअध्यक्ष शम्भु प्रधानले मैदानको संरक्षणका लागि केही समय खेल गतिविधि रोकिएको उल्लेख गर्दै अब संरक्षण र नियमित प्रयोगबीच सन्तुलन कायम गर्नुपर्ने बताए। उनले दुवो विस्तार, सरसफाइ र स्पष्ट प्रयोग मापदण्ड बनाएर मैदान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
हाल मैदानको सतह ठाउँ–ठाउँमा बिग्रिएको, प्याराफिट जीर्ण बनेको तथा सुरक्षा बार र पर्खालसमेत क्षतिग्रस्त अवस्थामा रहेको छ। नियमित सरसफाइको अभावमा मैदान झारपातले ढाकिएको थियो। स्थानीय हेमचन्द्र राईले सरसफाइसँगै मैदानको सतह सुधार, प्याराफिट मर्मत तथा सुरक्षा संरचनाको पुनर्निर्माणलाई दीर्घकालीन योजनामा समावेश गर्नुपर्ने बताए। धनकुटामा ठूला आउटडोर खेल सञ्चालन गर्न सकिने प्रमुख मैदान यही भएकाले यसको संरक्षण, नियमित मर्मत र व्यवस्थित सञ्चालनमा सम्बन्धित निकायले दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवालाको धारणा छ।
