इटहरी । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा पक्राउ परेका विराटनगरका मुकेश कार्की प्रारम्भिक सोधपुछपछि परिवारको जिम्मामा रिहा भएका छन्। प्रहरीले थप अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडेको जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार कार्कीमाथिको अनुसन्धान भने रोकिएको छैन। आवश्यक परे पुनः बोलाएर सोधपुछ गरिने उनले बताए। विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान घरबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ गरिएको थियो। प्रहरीका अनुसार कार्कीको नाम लामो समयदेखि अभिषेक गिरीसँग जोडिँदै आएको छ। गिरीका आर्थिक तथा अन्य गतिविधिको व्यवस्थापनमा संलग्न रहेको आशंकाका आधारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार गिरीसँग निकट रहेर आर्थिक कारोबारको हिसाबकिताब राख्ने, विभिन्न व्यवस्थापन गर्ने तथा सम्भावित आपराधिक गतिविधिमा सहयोग गरेको हुन सक्ने विषयमा अनुसन्धान भइरहेको छ। कार्की लामो समयदेखि प्रहरीको निगरानीमा रहेको र विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएको पनि प्रहरीले जनाएको छ। प्रहरीले अभिषेक गिरीसँग सम्बन्ध रहेका अन्य व्यक्तिमाथि पनि अनुसन्धान जारी राखेको जनाएको छ। गिरीको समूहसँग जोडिएर असुली, मिटरब्याज, धाकधम्की तथा अन्य आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा केही व्यक्तिमाथि निगरानी बढाइएको छ भने फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत असार १३ गते विराटनगर–८ स्थित घरबाट पक्राउ परेका अभिषेक गिरीमाथि हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। यसअघि मोरङ प्रहरीले उनलाई कारागारभित्र कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिक असुली गरी आर्थिक शोषण गरेको आरोपमा पक्राउ गरेको थियो। गिरीसँग सम्बन्धित आर्थिक तथा संगठित अपराधका अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।