इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा शनिबार बिहान गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन्। यहाँका ३५ परिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बस्तीको पुछारमा रहेको हेवा खोला नजिकैबाट बगेको पहिरोले घर तान्न थालेपछि स्थानीय विक्रम साँवा, चन्द्रप्रसाद साँवा, विष्णु साँवा र गणेशप्रसाद लिम्बूको परिवार पूर्ण रूपमा विस्थापित भएको हो। बस्तीको पुछारबाट निरन्तर पहिरो झरिरहेकाले फालेलुङ–५ लुङमादिनका ४२ मध्ये ३५ घरपरिवार उच्च जोखिममा रहेको स्थानीय वडाध्यक्ष भरतकुमार खपाङ्गी मगरले बताउनुभयो।

पहिरोका कारण नरेन्द्र केरुङ, लाखबहादुर केरुङ, सुकराज केरुङ, लक्ष्मी केरुङ, सागर केरुङ, डिल्लीमान केरुङ, डिल्लीप्रसाद केरुङ, भालुमान केरुङ, कृपामाया केरुङ, दीपक केरुङ, गणेश साँवा, डम्बरबहादुर साँवा, गुमानसिंह साँवा, हरिराज साँवा, कृपाराम साँवा, हर्कप्रसाद साँवा, धनेन्द्रराज केरुङ, मोतिहाङ केरुङ, चन्द्रकुमार केरुङ, सरिता केरुङ, गजेन्द्र केरुङ, राजेन्द्र केरुङ, धनप्रसाद केरुङ, देउकुमार केरुङ, लालबहादुर केरुङ, सङ्गीता केरुङ, सिङ्गबहादुर थाम्सुहाङ, गोकुल थाम्सुहाङ, सन्दीप थाम्सुहाङ, शेरबहादुर थाम्सुहाङ, लछिमाया थाम्सुहाङ, मङ्गल थाम्सुहाङ, रुद्रबहादुर थाम्सुहाङ, आइतराज केरुङ र मिलन केरुङ गरी ३५ परिवारका १६८ जना जोखिममा परेको वडाध्यक्ष खपाङ्गीले जानकारी दिनुभयो। पहिरोको जोखिम बढेपछि स्थानीयवासी त्रासमा छन्।निरन्तर वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आग्रह गर्नुभएको छ।