इटहरी । जीवन विज्ञान प्रयोगशाला सुन्दरहरैँचा–४ को दोस्रो वार्षिक साधारण सभा नेवा सामुदायिक भवनमा सम्पन्न भएको छ । 

साधारण सभाले संस्थाका वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रमबारे गहन छलफल गरेको छ। संस्थाकी अध्यक्ष बिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष गोमामाया ढकालले आय–व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रममा भूमि चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन विज्ञानले समाजमा सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो।

प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले मानसिक तनाव न्यूनीकरण र स्वस्थ जीवनशैलीका लागि यस्ता अभियानलाई स्थानीय तहले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। विशिष्ट अतिथि कोशी प्रदेश अध्यक्ष केदारमान कार्कीले यस प्रयोगशालालाई नगरकै उत्कृष्ट ठहर गर्दै अभियानलाई विस्तार गर्न शुभकामना दिनुभयो। कार्यक्रमकी अध्यक्ष बिमला श्रेष्ठले संस्थाले विगत एक वर्षमा ध्यान, योग, सकारात्मक सोचको विकास, व्यक्तित्व विकास तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी रूपमा समुदायमा जीवन विज्ञानका गतिविधि विस्तार गर्दै बढीभन्दा बढी नागरिकलाई जोड्ने लक्ष्य रहेको बताउँदै संस्थालाई सहयोग गर्ने सम्पूर्ण सदस्य, प्रशिक्षक तथा शुभेच्छुक प्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा इटहरी उपमहानगरपालिका संयोजक विश्वेश्वर पोख्रेल, सुन्दरहरैँचा संयोजक कल्पना दाहाल, ज्येष्ठ नागरिक प्रयोगशालाका अध्यक्ष भजन सुवेदी, मिलिजुली क्लब प्रयोगशालाका अध्यक्ष राजकुमार अधिकारी तथा शिव पञ्चायन प्रयोगशालाका अध्यक्ष केशव काफ्लेको उपस्थिति रहेको थियो। साथै, प्रशिक्षकहरू सन्तोष ढकाल र मेनुका घिमिरे सहित सहभागीहरूले सकारात्मक सोच र योगका माध्यमबाट समाज रूपान्तरणमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रमले आत्मअनुशासन, पारिवारिक सद्भाव र स्वस्थ समाज निर्माणमा जीवन विज्ञानको भूमिका महत्त्वपूर्ण रहेको निष्कर्ष निकालेको छ ।