इटहरी । झापाको धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा दुईदिने ‘आईभीटी रोटा मोक पार्लियामेन्ट २०२६’ नमुना संसद सफलतापूर्वक सम्पन्न भएको छ ।

रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युनिसिपलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवाहरूमा संसदीय अभ्यास, नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गर्नुभएको थियो। उहाँले युवाहरूलाई संविधान, लोकतन्त्र र संसदीय प्रणालीप्रति जागरूक बनाउँदै नेतृत्व क्षमता निखार्न यस्ता व्यावहारिक अभ्यासहरू प्रभावकारी हुने बताउनुभयो।

विशेष मन्तव्यका क्रममा झापा जिल्ला लघु उद्यमी महासंघकी अध्यक्ष तथा सार्क ट्याङ्क नेपाल २०२५ की विजेता निर्मला चवान भण्डारीले युवाहरूलाई उद्यमशीलताको महत्व, स्टार्टअपको अवधारणा, अवसरको पहिचान तथा आत्मनिर्भर बन्न आवश्यक सोच र सीपका बारेमा प्रेरणादायी अनुभव साझा गर्नुभयो। कार्यक्रमको समन्वय रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युनिसिपल वर्ष २०२५÷२६ की अध्यक्ष पूजा संग्रौलाले गर्नुभएको थियो।

सो अवसरमा विभिन्न विद्यालय तथा कलेजका सहभागीहरूले नेपालको संघीय संसदको कार्यप्रणाली, विधेयक दर्ता, प्रश्नोत्तर, छलफल र मतदान प्रक्रियाको यथार्थ अभ्यास गरेका थिए । सहभागीहरूले सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद तथा प्रतिपक्षको भूमिका निर्वाह गर्दै लोकतान्त्रिक संस्कार, संसदीय मर्यादा र नीति निर्माणबारे व्यावहारिक ज्ञान हासिल गरेका छन् ।

कार्यक्रम सफल बनाउन सहकार्य गर्ने संस्था, निर्णायक, स्वयंसेवक, अतिथि तथा सहभागीहरूको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार यस अभ्यासले युवाहरूमा संवैधानिक चेतना, नेतृत्व क्षमता र जिम्मेवार नागरिक बन्ने भावना अझ सुदृढ बनाएको छ ।