इटहरी ।  एक समय धानखेतीका लागि परिचित झापाका धेरै किसान अहिले माछापालनतर्फ आकर्षित भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा फैलिएका पोखरीहरूले स्थानीय उत्पादन बढाएको छ भने माछा खाने संस्कृतिसमेत विस्तार हुँदै गएको छ । तर उत्पादन बढाउने सपना बोकेका व्यावसायिक माछा किसान अहिले भने व्यवसाय जोगाउने संघर्षमा छन् । 

बढ्दो उत्पादन लागत, महँगो विद्युत् महसुल, दाना तथा औषधीको मूल्यवृद्धि, बजार व्यवस्थापनको कमजोरी र भारतीय माछासँगको असमान प्रतिस्पर्धाले माछापालन व्यवसाय सङ्कटतर्फ धकेलिएको उनीहरूको गुनासो छ । नेपाल मत्स्य विकास संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार माछापालन कृषि उद्यम भए पनि व्यवहारमा उद्योगसरहको भार बोक्नुपरेको छ । विशेषगरी विद्युत् महसुलमा भएको वृद्धिले उत्पादन लागत उल्लेख्य रूपमा बढाएको उहाँको भनाइ छ । यस विषयमा उहाँले सरोकारवालाहरुको ध्यान जानु पर्ने बताउनुभयो ।

उहाँका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारतबाट भित्रिने माछासँग नेपाली किसानले असमान प्रतिस्पर्धा गर्नुपरेको छ । आयातित माछाको प्रभावकारी व्यवस्थापन नहुँदा स्वदेशी उत्पादनले उचित मूल्य र बजार पाउन नसकेको उनको भनाइ छ । दुखका साथ उत्पादन भएर बजारमा पुगेको माछासमेत बिक्री गर्न कठिन हुने अवस्था आएको उहाँले बताउनुभयो । नेपाल मत्स्य विकास संघका अनुसार झापामा वार्षिक करिब एक हजार पाँच सय टन माछा उत्पादन हुन्छ भने करिब दुई सय जना किसान व्यावसायिक माछापालनमा संलग्न छन्। पूर्वी नेपालकै महत्वपूर्ण माछा उत्पादन जिल्लाका रूपमा झापा चिनिने अवस्थामा पुगेको छ । 

माछा उत्पादक किसान तुलसी राजवंशीका अनुसार दाना, औषधि, विद्युतीय उपकरण र श्रम खर्च निरन्तर बढीरहेका कारण उत्पादन लागत नियन्त्रण गर्न कठिन भएको छ । सरकारले प्राविधिक सहयोग, नियमित अनुगमन र उत्पादनमैत्री नीति ल्याउनु पर्ने उहाँको सुझाव छ। स्थानीय उत्पादनलाई बढवा दिन झापाको हल्दिवारी लगायतका गाँउपालिकाहरुले भारतीय माछा ओसारपसारमा प्रतिबन्ध गरेका थिए । अन्य पालिकाहरुले समेत यस प्रकारका निर्णयहरु गरेपनि कार्यन्वयनमा आएको छैन । भारतबाट सस्तोमा माछा आउने भएकाले चोरीपैठारीको माध्यमबाट समेत माछा झापा भित्रने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनुसार अबैध रुपमा माछा भित्राउने कार्यलाई निरुत्साहित गर्नका लागि प्रहरीले प्रमुख नाँकाहरुमा आवश्यक सावधानी अपनाएको छ । यसरी भित्र्याएका माछाहरु नियण्त्रणमा लिएर नष्ट गरिदै आएको पनि अवाले जानकारी दिनुभयो । झापामा वार्षिक करिब १ हजार ८४६ दशमलव ३३ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रको आर्थिक वर्ष २०८१र८२ को तथ्याङ्क अनुसार जिल्लामा ३८३ दशमलव ४४ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन भइरहेको छ।