इटहरी । मोरङ प्रहरीले एक नाबालिकामाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको सुनबर्षी नगरपालिकाकी एक नाबालिकालाई ललाइफकाइ विभिन्न क्याफेमा लगेर जबर्जस्ती करणी गरिएको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साउन ३ गते बिहान करिब ९ बजे रंगेली नगरपालिका–३ का १८ वर्षीय सिटी सफारी चालक मोम्मद अरमानले नाबालिकालाई रंगेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगेर जबर्जस्ती करणी गरेका थिए । त्यसपछि सोही क्याफेका सञ्चालक सुनबर्षी नगरपालिका–१ निवासी २१ वर्षीय सुमनकुमार साहले पनि नाबालिकामाथि जबर्जस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसको भोलिपल्ट साउन ४ गते राति करिब ९ बजे पीडितलाई पुनः रंगेली नगरपालिका–७ स्थित सन्सारी मन्दिर नजिक रहेको एक क्याफेमा पुर्याई सामूहिक रूपमा जबर्जस्ती करणी गरिएको आरोप छ । घटनामा संलग्न रहेको आरोपमा रंगेली नगरपालिका–७ का २० वर्षीय करण मण्डल, रंगेली नगरपालिका–७ का १८ वर्षीय प्रियान्सु साह तथा रंगेली नगरपालिका–६ का १८ वर्षीय रितिक यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पीडित पक्षबाट उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले साउन १० गते बेलुका करिब ४ः१० बजे पाँचै जनालाई पक्राउ गरेको थियो । प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी जबर्जस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।


