इटहरी । विद्यालयलाई सामान्यतया विद्यार्थीले शैक्षिक ज्ञान र सीप हासिल गर्ने थलोका रूपमा लिइन्छ। कतिपय विद्यालयमा आवश्यक स्रोतसाधनको अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती हुने गरेको छ। तर, सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयले भने शैक्षिक ज्ञानसँगै पुरातात्विक सामग्रीको संरक्षण गर्दै विद्यालयमै संग्रहालय स्थापना गरेको छ।सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा रहेको उक्त विद्यालय विश्वकै होचो अरुण उपत्यकामा अवस्थित छ। समुद्री सतहबाट ४५७ मिटर उचाइमा रहेको तुम्लिङटारमा वि।सं। २०१६ सालमा स्थापना भएको यस विद्यालयले २०७३ सालदेखि माध्यमिक तहमा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषयको पठनपाठन सुरु गरेको हो।
पढाइसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालयले पुराना घरेलु सामग्री, कृषि औजार तथा ऐतिहासिक महत्त्वका वस्तुहरू संकलन गरी संग्रहालय स्थापना गरेको छ। विद्यालय परिसरभित्र रहेको संग्रहालयमा खेतीपातीमा प्रयोग हुने दाँतो, हलो, फाली, फ्याउरी, कोदाली, जुवा, हँसिया, हल्लुड, समाजुवा लगायतका सामग्री राखिएका छन्।त्यस्तै, विगतमा घरायसी प्रयोगमा आउने गुन्द्री बुन्ने तान, गुप्ते, ठेकी, मदानी, नेती, पोरा, ऊनीका झोला, लालटिन, पेट्रोम्याक्स, आइरन र ओदानलगायत सामग्री पनि संग्रहालयमा राखिएका छन्।विद्यालयका प्रधानाध्यापक कुवेरप्रसाद भेटुवालका अनुसार संग्रहालयमा डेली स्प्रे, थुन्चे, डालो, कुपी, पत्रे ठेकी, चुलेसी, फाली, बिँडो, काठको पिँढी, महला, तोक्मा, ढाकर, छाता, भुने, घुम, मालीलगायत पुराना सामग्री संकलन गरिएको छ।उहाँका अनुसार एउटा कोठामा व्यवस्थित रूपमा राखिएका यी पुरातात्विक सामग्री विद्यार्थीका लागि मात्र नभई सङ्खुवासभासहित अन्य जिल्लाबाट आउने विद्यार्थी तथा अभिभावकका लागि समेत अध्ययन र अवलोकनको केन्द्र बनेको छ। संग्रहालय अनुसन्धान र पुराना पुस्ताको जीवनशैली बुझ्ने महत्त्वपूर्ण थलोका रूपमा विकास हुँदै गएको उहाँले बताउनुभयो।
संग्रहालयमा दुर्लभ वस्तु, दस्तावेज र स्मृतिहरू पनि सुरक्षित राखिएका छन्। तामाका पैसा, चलनचल्तीका पुराना मुद्रा, डोली पैसा, सिक्का, पुराना डिजिटल क्यामेरा, टेलिभिजन, क्यासेट प्लेयर र घडीसमेत यहाँ राखिएका छन्।प्रधानाध्यापक भेटुवालका अनुसार संग्रहालयले विगतका पुस्ताको जीवनशैली, प्रविधि र सामाजिक विकासक्रम बुझ्न विद्यार्थीलाई सहयोग पुर्याएको छ। घरायसी सामग्री, ग्रामोफोन, टेलिफोन, रेडियो, भाँडाकुँडा, काठ तथा माटाका सामग्री, कृषि औजार र दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू संग्रह गरिएकाले विद्यार्थीले पुस्तकमा पढेका विषयलाई प्रत्यक्ष रूपमा हेरेर बुझ्ने अवसर पाएका छन्।
वि.सं। २०१६ सालमा स्थापना भएको यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म एक हजार ४४२ विद्यार्थी अध्ययनरत छन्। चुस्त व्यवस्थापन, रचनात्मक शैक्षिक गतिविधि, प्रभावकारी शिक्षक सिकाइ र उत्कृष्ट नतिजाका कारण यो विद्यालय प्रदेश नमुना विद्यालयका रूपमा समेत छनोट भएको छ।


