इटहरी । साउनको दोस्रो सोमबार देशभरका शिवालयहरूमा जल अर्पण गर्ने भक्तजनको घुइँचो लाग्दा सुनसरीको इटहरी–२ स्थित त्रिनेत्र मोक्षधाममा पनि उल्लेख्य भीड लागेको छ ।

धाममा स्थापित १०८ शिवलिङ्गको दर्शन तथा जल अर्पण गर्न बिहान ५ बजेदेखि नै भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो। धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित यस मोक्षधाममा साउन महिनाभर बोलबम मेला सञ्चालन भइरहेको छ। धाम स्थापना भएपछि पहिलोपटक आयोजित यस मेलामा सोमबार १ हजार १ सय ४ जना भक्तजनले जल अर्पण तथा प्रसाद ग्रहण गरेको मोक्षधाम सेवा समितिका अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित वातावरणमा दर्शन गराउन विभिन्न समिति गठन गरी स्वयंसेवक परिचालन गरिएको सुवेदीले बताउनुभयो । साथै भक्तजनका लागि आवास, भोजन र प्रसादको समेत उचित प्रबन्ध मिलाइएको छ। साउने सोमबार पवित्र नदी वा कुण्डबाट ल्याइएको जल शिवलिङ्गमा चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

यस क्षेत्रलाई कोशी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारसँग समन्वय र सहकार्य भइरहेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताउनुभयो ।