इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार घाइते ओमप्रकाश मेहताको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि सोमबार बिहान पनि अर्का एक घाइतेको मृत्यु भएको थियो। मृतक दुवै जनाको नाम ओमप्रकाश मेहता रहेको अध्यक्षले जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा ९ जना सर्वसाधारण घाइते भएका थिए। झडपमा करिब १५ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घटनापछि आक्रोशित स्थानीयले प्रदर्शन गरेपछि प्रशासनले कफ्र्यु जारी गरेको थियो। तर बिहानैदेखि स्थानीयले कफ्र्यु आदेश उल्लंघन गर्दै सडकमा टायर बालेर उग्र प्रदर्शन गरेका छन्। देवानगञ्जका साथै सुनसरीका अन्य स्थानमा पनि विरोध प्रदर्शन फैलिएपछि स्थिति नियन्त्रणमा लिन कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ ।


