इटहरी । वन्डर्स ग्रुपको लगानीमा धनकुटाको भेडेटारमा निर्माण गरिएको स्काइ वाकको दोस्रो वार्षिकउत्सव मनाइएको छ ।  सोमबार एक कार्यक्रमको आयोजनागरी स्काइवाकको दोस्रो वार्षिक उत्सव मनाइएको हो ।

२०८१ साउन ११ गतेबाट सञ्चालनमा आएको स्काई वाकले जुन लक्ष्य राखेर स्काइवाक निर्माण गरिएको थियो त्यो लक्ष्य प्राप्त भएको बताएको छ । भेडेटार पूर्वको पर्यटकीय केन्द्र भएपनि यहाँको पर्यटनलाई थप बढाउन साहसिक गतिविधि गर्न पाउने अवसर उपलब्ध गराउने उद्देश्यले स्काइवाक सञ्चालनमा ल्याएको वन्डर्स ग्रुपले जनाएको छ । सरकारी क्षेत्रबाट नगरेपनि निजी क्षेत्रबाट जुन लक्ष्यका साथ दुई वर्ष अगाडि स्काइवाक निर्माण गरेको त्यो पुरा हुँदे गएको स्काइ वाकका प्रबन्ध निर्देशक सञ्जीब रोकायले जानकारी दिनुभयो। स्काइ वाकमा पहिलो वर्ष १ लाख ७१ हजार र दोस्रो वर्ष १ लाख ३१ हजारले भ्रमण गरेको उहाँले बताउनु भयो।

कूल ११ रोपनीमा निर्माण भएको स्काइ वाकमा छिमेकी जिल्ला सहित भारतका पर्यटकको लागि प्रमुख गन्तव्य बनेको छ । स्काइ वाकमा सिसा माथि हिँड्ने भएकाले आकाशमा हिँडे जस्तो अनुभव हुने गरेको छ। साहसिक गतिविधि मन पराउनेका लागि भेडेटार स्काइवाक उत्कृष्ट गन्तव्य बनेको छ।

स्काइ वाकमा एक पटकमा २५ जनासम्म जान सक्ने बताइएको छ। स्काइ वाकमा चढ्दा ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई निशल्क प्रवेशको व्यवस्था रहेको छ ।