धनकुटा । तमोर करिडोर सडकखण्डअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक करिब ८ः२० बजे ब्रेक फेल भई सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ट्रकमा सवार सहचालक तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का १८ वर्षीय सञ्जीव सौङ्ग्रौला भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारले जानकारी दिनुभयो ।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फलामेटाबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।