झापा : झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेर दुःख दिएको भन्ने उजुरीपछि इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले निगरानी बढाएको थियो।
सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा साहलाई सोही वडाअन्तर्गत कुञ्जीबारी बजारस्थित एक होटलबाट उक्त रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ। पक्राउ परेका साहमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।


