इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१, घुमाउनेमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकृत गर्ने अभियान हाल सञ्चालन भइरहेको छ ।
महालक्ष्मी नगरपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालित उक्त अभियानमा ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति, दलित ज्येष्ठ नागरिक लगायत लक्षित लाभग्राहीहरूको बायोमेट्रिक प्रमाणीकरण सहित सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा नयाँ सूचीकृत गर्ने कार्य भइरहेको छ । महालक्ष्मी नगरपालिकाका वडा सचिव भेष नारायण पौडेलका अनुसार, तोकिएको समय भित्र सबै लाभग्राहीले अनिवार्य रूपमा परिचयपत्र नवीकरण गराउनुपर्नेछ ।
साथै, वृद्धावस्था, अशक्तता वा स्वास्थ्य अवस्थाका कारण वडा कार्यालय सम्म आउन असमर्थ ज्येष्ठ नागरिकका लागि घर–घरमै पुगेर सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । समयमै नवीकरण नगरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रक्रियामा समस्या आउन सक्ने भएकाले निर्धारित समयभित्र परिचयपत्र नवीकरण गराउन उहाँले सबै लाभग्राहीलाई आग्रह गर्नुभएको छ । वडा सचिव पौडेलका अनुसार, घुमाउनेपछि महालक्ष्मी नगरपालिकाका अन्य वडाहरूमा पनि क्रमशः सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकृत गर्ने अभियान सञ्चालन गरिनेछ ।


