इटहरी । सुनसरीका छ वटा स्थानीय तहले शोक बिदा दिएका छन्। आइतबार राति जिल्लाको सीमावर्ती देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिका कारण इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, बर्जु, भोक्राहा नर्सिङ र देवानगञ्ज गाउँपालिकाले शोक बिदा दिएका हुन्।

देवानगञ्ज गाउँपालिका र इनरुवा नगरपालिकाले दुई दिन तथा हरिनगर, कोशी, बर्जु र भोक्राहा नर्सिङ गाउँपालिकाले एकरएक दिन स्थानीय शोक बिदा दिएको सूचना जारी गरी जानकारी गराएका छन्। सम्बन्धित स्थानीय तहहरूले जारी गरेको सूचनामा साउन १० गते कप्तानगञ्ज बजारमा भएको दुःखद घटनाप्रति  दुःख व्यक्त गर्दै शोक बिदा दिइएको उल्लेख छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।

बिदाका दिन नगर तथा गाउँपालिकाका कार्यालय, वडा कार्यालय, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय, स्वास्थ्य संस्था ९अत्यावश्यक सेवाबाहेक० र मातहतका सम्पूर्ण कार्यालय बन्द रहनेछन्। इनरुवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले नगरप्रमुख केदार भण्डारीको निर्देशन अनुसार सबैलाई सामाजिक सद्भाव, आपसी भाइचारा, धार्मिक सहिष्णुता तथा साम्प्रदायिक एकता कायम राख्न अपिल गरिएको जानकारी दिनुभयो।