इटहरी । ‘यो सिक्का करोडौँमा बिक्री हुन्छ’, ‘धार्मिक आकृति भएको पुरानो सिक्का विदेशमा महँगो मूल्यमा किनिन्छ’, ‘थोरै लगानी गर्नुस्, ठूलो रकम कमाउनुस’, यी र यस प्रकारका प्रलोभनपूर्ण कुरा सुनेर झापामा धेरै सर्वसाधारण ठगीको सिकार भइरहेको पाइएको छ ।
पछिल्लो समय झापामा पनि पुरानो तामाजस्तो देखिने सिक्का देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यसैसाता भित्र नै दुई छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनुसार हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रमा पुरानो तामाजस्तो देखिने सिक्का देखाएर ठगी गर्ने क्रममा भारतको किसनगञ्ज, गलगलिया घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रमा भगवानको आकृति भएको सिक्का देखाएर ठगी गर्न खोज्दै गरेको सूचनाका आधारमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ३५ वर्षीय साबिर मियाँलाई चारवटा सिक्कासहित नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको पनि अवाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार यस्ता गिरोहले पुरानो वा धार्मिक आकृति भएको सिक्का अत्यन्तै दुर्लभ र बहुमूल्य भएको दाबी गर्दै सर्वसाधारणलाई आकर्षित गर्ने गरेको पाइएको छ । सुरुमा सिक्का देखाएर विश्वास दिलाइन्छ, त्यसपछि परीक्षण, खरिद प्रक्रिया वा अन्य बहानामा रकम माग्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अवाले जनाउनुभयो । यस्ता घटनामा अधिकांश पीडितले कानुनी प्रक्रिया वा लाजका कारण उजुरी नगर्ने भएकाले ठगी गर्ने समूह अझ सक्रिय हुने गरेको उहाँले बताउनुभयो ।
पुराना सिक्का, धार्मिक आकृति भएका सिक्का वा यस्तै अन्य वस्तु देखाई अस्वाभाविक लाभ वा अत्यधिक मूल्य पाइने भन्दै कसैले प्रलोभन दिएमा त्यसमा विश्वास नगर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता अवाले जनाउनुभएको छ । यस्ता कार्यमा संलग्नहरुको पहिचान र निगरानीका लागि सबै प्रहरी कार्यालयहरुलाई निर्देशन दिईसकिएको जिल्ला प्रहरी कार्यालय झापले जनाएको छ ।


