इटहरी। मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि ट्रकले किच्दा एक युवकको मृत्यु भएको घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि खुलेको छ। प्रारम्भिक रूपमा लडेर मृत्यु भएको अनुमान गरिए पनि अनुसन्धानबाट ट्रकको चक्काले किच्दा मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
सुनसरीको गढी गाउँपालिका–२ घर भई हाल बुढीगंगा–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव साउन १० गते साँझ करिब ६ः३० बजे सडकमा घाइते अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले उनको उद्धार गरी उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याएको थियो। अस्पताल पुगेपछि चिकित्सकले ऋषिदेवलाई मृत घोषणा गरेका थिए। त्यसपछि शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो।
पोस्टमार्टम रिपोर्टमा मृत्यु सामान्य रूपमा लडेर नभई बाह्य चोटका कारण भएको देखिएपछि प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा ना ७ ख ७८८ नम्बरको ट्रक रोकेर राखिएको अवस्थामा मृतक ट्रकको चक्कामुनि गएर सुतेको र चालकलाई त्यसबारे जानकारी नहुँदा ट्रक अगाडि बढाउँदा चक्काले किचेर मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्रकका चालक झापाको कचनकवल गाउँपालिका–१ निवासी ३० वर्षीय हरि थापालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


