इटहरी । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि सरकारको संकट व्यवस्थापन, राजनीतिक नेतृत्व र सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन, विरोध र तनाव जारी रहँदा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र गृहमन्त्री सुधन गुरुङको भूमिकालाई लिएर राजनीतिक दल, नागरिक समाज र विभिन्न सरोकारवालाले आलोचना गरेका छन्। घटनापछि सरकारले आवश्यक संवेदनशीलता देखाउन नसकेको आरोप लागिरहेको छ। विशेष गरी देश तनावपूर्ण अवस्थामा रहेका बेला प्रधानमन्त्री र गृहमन्त्रीले प्रभावकारी नेतृत्व दिन नसकेको भन्दै सरकारको कार्यशैली विवादमा परेको हो। विपक्षी दलहरूले मात्रै होइन, विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वले पनि सरकारले समयमै पहल नगरेको टिप्पणी गरेका छन्।

सामाजिक सद्भाव र राजनीतिक एकताको सन्देश दिन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारमा सर्वदलीय बैठक आयोजना गरिएको थियो। बैठकमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भए पनि प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहेपछि सरकारको गम्भीरतामाथि थप प्रश्न उठेको छ। देश संवेदनशील अवस्थाबाट गुज्रिरहेका बेला सरकारका प्रमुख जिम्मेवार व्यक्ति नै बैठकमा सहभागी नभएको विषयलाई लिएर विभिन्न कोणबाट आलोचना भइरहेको छ। प्रधानमन्त्री साहले भने फेसबुकमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही हुने बताएका छन्। साथै, सरकारले पर्याप्त रूपमा उपस्थित हुन नसकेको स्वीकारोक्तिसमेत सार्वजनिक गरेका छन्। यही अभिव्यक्तिलाई आधार बनाएर सरकारको राजनीतिक जिम्मेवारीबारे प्रश्न उठाइएको छ।

यसअघि नेपाल प्रहरीका महानिरीक्षकले मधेश क्षेत्रमा साम्प्रदायिक तनाव बढ्न सक्ने जोखिमबारे जानकारी गराइसकेको विषय सार्वजनिक भइसकेको अवस्थामा सरकारले आवश्यक पूर्वतयारी किन गर्न सकेन भन्ने प्रश्न पनि उठेको छ। सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वबीच प्रभावकारी समन्वय हुन नसक्दा अवस्था जटिल बनेको विश्लेषण भइरहेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सरकार संकटका बेला जनतासँग सम्पर्कविहीनजस्तै देखिएको टिप्पणी गरेका छन्। यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र सामाजिक सद्भाव कायम राख्न सरकारसँग माग गरेका छन्।

सुरक्षा व्यवस्थापनको पक्ष पनि विवादमा परेको छ। घटना हुनुअघि सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गणका प्रमुखको सरुवा भएको र नयाँ कमान्डर नखटिएको तथा घटनाका बेला सुनसरी प्रहरी प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुख बिदामा रहेको विषय सार्वजनिक भएपछि सुरक्षा तयारीमाथि पनि प्रश्न उठेको हो। देवानगन्ज घटनामा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि उत्पन्न तनाव दीर्घकालीन रूपमा समाधान गर्न सरकार, राजनीतिक दल, स्थानीय समुदाय र धार्मिक अगुवाबीच संवाद तथा विश्वास निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।