इटहरी । ताप्लेजुङमा पाँच दर्जन नयाँ उद्योग दर्ता भएका छन् । पछिल्लो एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत उक्त सङ्ख्यामा उद्योगहरु दर्ता भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार गत आर्थिक वर्षमा विभिन्न उद्देश्यका पाँच दर्जन अर्थात ६० वटा नयाँ उद्योग दर्ता भएका छन् । गत आवमा एक कम्पनी र ५९ वटा निजी फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईले जानकारी दिनुभयो । दर्ता भएकामध्ये सबैभन्दा बढी कृषि तथा वन पैदावारसँग सम्बन्धित २८ उद्योग रहेका छन् । यस्तै सेवामुलक १९ वटा, पर्यटनसम्बन्धी सात, उत्पादनमुलक चार र सूचना प्रविधिमा आधारित दुईवटा नयाँ उद्योग दर्ता भएका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार वाणिज्य प्रशासन अर्थात व्यापारतर्फ २५ वटा नयाँ फर्म दर्ता भएका छन् । वाणिज्यका १०६ वटा फर्मको नवीकरण, केही फर्मको पुँजीवृद्धि र उद्देश्य थप गरिएको छ । वाणिज्य प्रशासनतर्फका १२ वटा उद्योग खारेज भएको पनि घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । यसैबिच विभिन्न उद्योगमा आवद्ध भएका तथा नयाँ उद्यम गर्न चाहने २३६ जनालाई उद्योग कार्यालयले सीपसम्बन्धी तालिम प्रदान गरेको छ । गत आवमा विभिन्न उद्यम लक्षित सीपसम्बन्धी तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सीप प्राप्त गर्नेमा १४० जना पुरुष र ९६ जना महिला रहेका छन् ।

उद्योग कार्यालयले ग्राफिक डिजाइन, वेब डेभलपमेन्ट, ब्युटी पार्लर, ट्रयाक सुट सिलाई, एड्भान्स सिलाई कटाई र बारिष्टासम्बन्धी तालिम प्रदान गरेको छ । त्यस्तै उद्यमशिलता विकास तालिमसमेत उद्यमीहरुलाई प्रदान गरेको उद्योग कार्यालयले जनाएको छ । उद्योग सञ्चालन गर्न र उद्यमी बन्न चाहनेलाई आवश्यक सहयोग र सीपसम्बन्धी तालिम प्रदान गर्न कार्यलाई निरन्तरता दिइने उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङको भनाइ छ ।