इटहरी । झापाको भद्रपुर नगरपालिका–४ मा हात्ती धपाउनका लागि आफ्नै बारीमा जडान गरिएको नाङ्गो विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी ६५ वर्षीया पत्नी सनज्योति लिम्बूको बिहान करिब ९ बजे करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार लिम्बूलाई करेन्ट लागेर लडिरहेको अवस्थामा बुहारी सविता खड्काले देखेपछि बिहान करिब ११ बजे महेशपुर प्रहरीचौकीमा खबर गरेकी थिइन्। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक विशाल श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दासम्म लिम्बूको मृत्यु भइसकेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


