इटहरी । कला संस्कृतिको जगेर्ना र हस्तान्तरण, तपाई हाम्रो उत्तरदायित्व भन्ने नारासहित नेशनल गट ट्यालेन्ट २०८३ र मिस धनकुटा २०८३ आयोजना हुने भएको छ ।

बुधबार रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरनेशनल प्रालि र टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालन गर्ने जनाएका हुन् । स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएका प्रतियोगिता मार्फत विशेषगरी ग्रामीण भेगमा लुकेका प्रतिभा पहिचान गरी राष्ट्रिय स्तर सम्म पु¥याउने लक्ष्य राखिएको छ । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले २०७३ साल देखि पूर्वाञ्चल डान्सिङ सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८०, २०८१ र २०८२ मा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ प्रतियोगिता सम्पन्न गरिसकेको छ । यस पटक देखि नेशनल गट ट्यालेन्ट आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनुभयो । गायन र नृत्य विधामा हुने प्रतियोगितामा दुवै विधामा प्रथम हुनेले जनही ५ लाख रुपैयाँ नगद सहित सोही बराबरको जीवन बिमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख र ५० हजार रुपियाँसहित अन्य सुविधा पाउनेछन् ।

नेशनल गट ट्यालेन्टको पहिलो चरणको छनौट प्रतियोगिता साउन १६ गते खोटाङबाट सूरु गरेर असोज ३ गते धनकुटा आइपुग्ने भएको छ । प्रतियोगिताको पहिलो छनौट चरण काठमाण्डौ, पोखरा, ताप्लेजुङ, इलाम, विर्तामोड, मोरङ, धरान, भोजपुर, ओखलढुंगा र तेह्रथुममा हुने भएको छ । यस्तै सिन्धुली, बुटबल, फिदिम, दमक, इटहरी, संखुवासभा, खोटाङ, सोलुखुम्बु र धनकुटामा अडिसन हुने आयोजकले जनाएको छ । यस्तै भारतको सिक्किममा पनि पहिलो चरणको अडिसन हुनेछ भने प्रतियोगिताको फाइनल अडिसन असोजमा धनकुटामा आयोजना हुने भएको छ । गायन र नृत्यतर्फ १३ वर्ष मुनिकालाई जुनियरतर्फ र १४ वर्ष माथिलाई सिनियरको रुपमा सहभागि गराइने भएको छ । नृत्यतर्फ भने दुई उमेर समूहमा पुरस्कार वितरण गरिनेछ—१२ वर्षमुनि र १२ वर्षभन्दा माथि । दुवै समूहमा प्रथम हुनेले जनही दुई लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

यस्तै धनकुटामा असोज ३ गतेबाट मिस धनकुटाको अडिसन सुरु हुने भएको छ । १६ देखि २७ वर्ष युवतीले सहभागिता जनाउन पाउने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, क्राउन, लगायत पाउने छन् भने दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले नगद २० हजार लगायतका पुरस्कार पाउने भएका छन् । दुवै प्रतियोगितालाई केवल प्रतिस्पर्धामा सीमित नराखी प्रतिभा विकास, अवसर सिर्जना र सांस्कृतिक संरक्षणसँग जोडिएको अभियानका रुपमा अघि बढाइएको छ । प्रतियोगिताले पर्यटन प्रवर्धन र स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन पनि सहयोग गर्ने अपेक्षा रहेको कार्यक्रम संयोजक योगीले बताउनु भयो ।