इटहरी । मोरङको सुन्दरहरैँचास्थित सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा नापतौल उपकरण प्रमाणीकरण तथा नवीकरण कार्यक्रम सम्पन्न भएको छ । 

बुधबार गछियास्थित संघको नवनिर्मित भवनमा गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा साविक सुन्दरदुलारी क्षेत्रका १०० भन्दा बढी व्यवसायीहरूले आफ्ना ढक, तराजु लगायतका नापतौल उपकरणको प्रमाणीकरण र नवीकरण गराएका छन् । संघका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष किशोर कार्की प्रमुख अतिथि रहनु भएको थियो । उहाँले व्यवसायलाई कानुनी, व्यवस्थित र भरपर्दो बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

3 1

त्यसैगरी, विशेष अतिथि संघका निवर्तमान अध्यक्ष जीवनप्रसाद ढुंगानाले व्यवसायीको सुविधालाई केन्द्रमा राखेर सञ्चालित कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक गतिविधिलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष थापाले व्यवसायी र उपभोक्ता दुवैको हितलाई मध्यनजर गर्दै नापतौल उपकरण प्रमाणीकरण तथा नवीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। सामान खरिद–बिक्री गर्दा कुनै पनि पक्ष मारमा नपरोस् र कारोबार पारदर्शी बनोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो । 

2 5

कार्यक्रममा व्यवसायीहरूलाई नापतौल उपकरणको नियमित प्रमाणीकरण तथा नवीकरणको महत्वबारे जानकारी गराइएको थियो । नापतौलमा हुने त्रुटि न्यूनीकरण गर्दै उपभोक्ताको विश्वास कायम राख्न तथा व्यवसायलाई पारदर्शी र विश्वसनीय बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने सहभागीहरूले बताएका थिए । कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्राविधिक, उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो ।